गण्डकीमा ३१९ कोरोना सङ्क्रमणमुक्त



गण्डकी ।

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ३१९ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । यस अवधिमा २९७ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा पछिल्लो २४ घण्टामा दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्र, गण्डकी प्रदेशका संयोजक नवराज शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार मृत्यु हुनेमा लमजुङको बेँसीसहर नगरपालिका–११ का ६७ वर्षीया महिला र म्याग्दीको बेनी नगरपालिका–२ का ७२ वर्षीय पुरुष हुनुहुन्छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या एक हजार २९५ पुगेको छ ।

प्रदेशमा हालसम्म ८१ हजार ५७५ जना कोरोना सङ्क्रमित भएकामा ७७ हजार २२ सङ्क्रमणमुक्त भएका छन् । प्रदेशमा हाल तीन हजार २५८ जना सक्रिय सङ्क्रमित र दुई हजार ८९३ जना होमआइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्