काठमाडौँ ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको संसदीय दलको बैठक सोमबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सुरु भएको छ।
आगामी संसद बैठकमा पार्टीको भूमिका प्रभावकारी बनाउने तथा सरकारका पछिल्ला गतिविधिबारे साझा धारणा निर्माण गर्ने उद्देश्यले बैठक बोलाइएको हो।
बैठकमा समसामयिक राजनीतिक अवस्था, सरकारको कार्यशैली र संसदमा प्रतिपक्षी दलका रूपमा निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा सांसदहरूबीच छलफल भइरहेको छ।
विशेषगरी सञ्चारमाध्यम र पत्रकारमाथि भइरहेको भनिएको धरपकड, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप तथा नागरिक अधिकारका विषयले बैठकमा प्राथमिकता पाएको छ। सहभागी नेताहरूले सत्तारूढ गठबन्धन र गृह प्रशासनको पछिल्लो कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै यी विषयलाई संसदमा सशक्त रूपमा उठाउनुपर्ने धारणा राखेका छन्।
त्यसैगरी, पत्रकारिता क्षेत्रमाथि देखिएको दबाब र लोकतान्त्रिक मूल्य–मान्यताविपरीतका गतिविधिबारे सरकारको ध्यानाकर्षण गराउने रणनीतिबारे पनि छलफल भइरहेको छ।
बैठकमा महँगी, सुशासन, जनसरोकारका विषय तथा कानून निर्माण प्रक्रियालाई प्रभावकारी बनाउने विषयसमेत छलफलको एजेन्डामा रहेका छन्।
प्रमुख प्रतिपक्षी दलको हैसियतमा सरकारलाई संसदप्रति जवाफदेही बनाउँदै जनताका मुद्दालाई प्राथमिकताका साथ उठाउने रणनीति तय गर्न बैठक केन्द्रित रहेको छ।











प्रतिक्रिया