प्रेस स्वतन्त्रतासँगै जवाफदेहिता खोजौँ: सञ्चार सचिव अर्याल



काठमाडौँ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले प्रेस स्वतन्त्रतासँगै जवाफदेहिता कायम गर्न सबैको ध्यान पुग्नुपर्ने बताउनुभएको छ । प्रेस काउन्सिल नेपालको अध्ययन गर्दै उहाँले काउन्सिलको काम–कारबाही एवम् सञ्चारमाध्यमको अनुगमन तथा नियमनबारे जिज्ञासा राख्नुभएको थियो ।

सचिव अर्यालले काउन्सिलको उद्देश्य अनुसार दायरा फराकिलो रहेको भन्दै पहिले के काम गर्ने हो त्यो निश्चित हुनुपर्ने धारणा राख्नुभयो । उहाँले सञ्चारसम्बन्धी कानुनमा के/कस्तो सुधार गर्नुपर्ने हो सुझाव दिन आग्रह गर्दै स्वतन्त्रताभित्र जवाफदेहीता हुनुपर्ने धारणा राख्नुभयो । काउन्सिल र मन्त्रालयबीच उचित समन्वय हुनुपर्ने भन्दै उहाँले काउन्सिलले केकस्तो आधारमा कसरी अनुगमन गरेको छ ? सरोकारवालासँग छलफल हुनुपर्ने बताउनुभयो । उहाँले आवश्यक सहयोग, समन्वय र सहकार्यको लागि मन्त्रालय सधैँ तयार रहेको उल्लेख गर्नुभयो । अनलाइन वर्गिकरण, प्रेस सङ्ग्राहलय निमार्र्ण तथा कर्मचारी विनियमावलीको विषयमा थप छलफल गर्नुपर्ने उहाँले बताउनुभयो ।

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले मिडियाबाट आएका सामग्रीहरु हेर्ने र उजुरी सुन्ने जिम्मा काउन्सिलको भएको बताउँदै यसबीच गरिएका काम–कारबाहीबारे छोटो धारणा राख्नुभयो । उहाँले प्रेस स्वतन्त्रताको संरक्षण, आचारसंहिताको निमार्ण र कार्यान्वयन, पत्रकार तथा कर्मचारीको दक्षता अभिवृद्धि लगायतको काम काउन्सिलले गर्दै आएको बताउनुभयो । उहाँले प्रेस सङ्ग्राहलय निमार्णको काम अगाडि बढेकाले यसलाई प्रभावकारी बनाउन सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।

काउन्सिलका सदस्य दीपक पाण्डेले काउन्सिल कस्तो बनाउने भन्नेमा विस्कृत छलफल हुनुपर्ने धारणा राख्नुभयो । काउन्सिलका सदस्य–सचिव गोगनबहादुर हमालले काउन्सिल र सूचना तथा प्रसारण विभागबाट प्रदान हुने सेवाबारे जानकारी दिनुहुँदै मिडियाको व्यवसायिकता र विश्वसनियता बढाउनुपर्ने, श्रमजीवी पत्रकारको हितमा थप काम गर्नुपर्ने बताउनुभयो ।

काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले हालसम्म सूचीकरण भएका अनलाइन, काउन्सिलको काम, कर्तव्य र उद्देश्य लगायत काउन्सिलको समग्र पक्षबारे जानकारी दिनुभयो । उहाँले पत्रपत्रिकारको वर्गीकरण, अनलाइनबाट उजुरी, मिडिया विकास कोषबाट सञ्चारमाध्यम एवं पत्रकारलाई दिइँदै आएको अनुदान, काउन्सिलको गठन, ऐन, नियम तथा मापदण्ड, काउन्सिलको पदाधिकारी नियुक्तिको प्रकृयाबारे पनि जानकारी गराउनुभएको हो ।

सचिव अर्याल र मन्त्रालयका सहसचिव अनिलकुमार दत्त सहितले मिडिया अनुगमनमा प्रयोग भएका मिडिया अभिलेखीकरण प्रविधिको अवलोकन गरी के÷कसरी अनुगमन हुने गरेको छ भन्ने चासो राख्नुभएको थियो । उहाँको जिज्ञासाबारे उप–प्रशासकीय अधिकृत रामशरण बोहराले जानकारी दिनुभयो । उहाँले प्रेस काउन्सिलसँग सञ्चारमाध्यमबाट सम्प्रेषित सामग्रीको आर्काइभ सिस्टम भएको भन्दै कोही कसैले गलत समाचार सम्प्रेषण गरेर डिलिट गरेपनि काउन्सिलसँग सुरक्षित रहने बताउनुभयो । कार्यक्रममा बोर्ड सदस्य ठाकुरप्रसाद बेलबासे सहित काउन्सिलका कर्मचारीहरूको उपस्थिति थियो ।

 

प्रतिक्रिया दिनुहोस्