गगनको महामन्त्रीमा उम्मेदवारी दिने घोषणा



काठमाडौं, (नेस) ।

नेपाली कांग्रेसका नेता गगन थापाले मंसिरमा हुने १४औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । सोमबार आफ्नो वडाका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले यस्तो घोषणा गर्नुभएको हो ।

काठमाडौं महानगरपालिका–३० को कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले भन्नुभयो– ‘सञ्चारमाध्यममा अन्तर्वार्ता दिएर होइन, मैले आफ्नै वडामै आयोजित कार्यक्रमबाटै महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरें ।’ कार्यकर्ता भेलामा थापाले भन्नुभयो– ‘मेरो वडा र अग्रजहरूबीचमा बडो गौरवका साथ १४औं महाधिवेशनमा नेपाली कांग्रेसको महामन्त्रीको घोषणा गर्छु ।’

पूर्वस्वास्थ्यमन्त्रीसमेत रहनुभएका थापाले १४औं महाधिवेशनमा महामन्त्री पदका लागि उम्मेदवारीको घोषणा गर्दा आफ्नो भावी योजना तथा रणनीति भने सार्वजनिक गर्नुभएन । १३औं महाधिवेशनमा कृष्णप्रसाद सिटौला गुटबाट महामन्त्रीका उम्मेदवार बनेका थापा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट महामन्त्रीको उम्मेदवार बनेका डा. शशांक कोइरालाबाट पराजित हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्