धुलिखेलको मुख्य चोकमा ‘टिकटक बर्गर हाउस’ उद्घाटन



मोतीराम तिमल्सिना , काभ्रे  । 

पर्यटकिय नगरी धुलिखेलमा कोभिड महामारीका बीच दैनिक होटल रेस्टुरेन्ट तथा क्याफे खुल्ने क्रम बढेको छ । श्रीकृष्णजन्मअष्टमीको अवसर पारी सदरमुकाम धुलिखेलमा दुई राजमार्गको चोकमा चर्चित टिकटक एपका नामबाट टिकटक बर्गर हाउस एण्ड तन्दुरी चिकेनको शुभारम्भ भएको छ । युवा ब्यवसायी लक्ष्मण तामाङ र प्रवेश अधिकारीको ८० लाख लगानीमा स्थापना गरिएको टिकटक बर्गर हाउसको धुलिखेल नगरपालिकाका प्रमुख एवं नेपाल नगरपालिका संघका अध्यक्ष अशोक ब्याञ्जुले शुभारम्भ गर्नु भयो ।

‘होटल तथा रेस्टुरेन्ट ब्यवसायका कारण धुलिखेल आउने पर्यटक र पर्यटनलाई थप आर्कषित गर्नेछ’–प्रमुख अशोक ब्याञ्जुले भन्नुभयो–‘दुई महिनाका बीचमा विपी र अरनिको राजमार्गको संगममा ५ वटा होटल तथा रेस्टुरेन्टको शुभारम्भले ठुला होटलबाट निस्कने आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि थप सहजता प्रदान गर्नेछ ।’ कोभिडकै महामारीमा पनि धुलिखेलमा ठुला, मध्यम र साना खालका होटल तथा रेस्टुरेन्टको शुरुवात भएको प्रमुख ब्याजुले जानकारी दिनु भयो । बनेपा नगरपालिका वडा नम्वर ६ मा हिमालय दृश्य लगायतका ठुला होटलहरुको शुभारम्भ भएको छ भने ब्राण्ड भएका होटल तथा रेस्टुरेन्टहरु पनि शुरु भएका छन् । पर्यटकहरुका लागि धुलिखेल आर्कषक शहरका रुपमा चिनिन थालेको उहाँले बताउनु भयो ।

 

‘ठुला होटलबाट निस्किएका पर्यटकहरु साना होटलमा प्रवेश गर्दा उतिक्कै हाईजेनिक खानेकुरा र स्वागत सत्कारको महसुस गर्न सक्छन’– संचालक लक्ष्मण तामाङले भन्नुभयो–‘बर्गर के हो ? बर्गरको स्वाद कस्तो हुन्छ ? बर्गर र चिकेन तन्दुरीको मज्जा कसरी लिन सकिन्छ ? त्यसकै स्वादका लागि हाईजेनिक खाना तयार गरिन्छ ।’

बर्गर र चिकेन तन्दुरीका पारखीहरुका लागि टिकटक जस्तै चर्चित बन्न सक्ने गरी बर्गर र तन्दुरीको सेवा शुरु गरिएको संचालक लक्ष्मण तामाङले बताउनु भयो । लक्ष्मणसँग लामोसमय होटलमै काम गरेको अनुभव छ ।टिकटक बर्गर हाउसमा बर्गर र तन्दुरीको अलावा नान, पिज्जा र नेवारी खाजा सेटको स्वाद लिन सकिने संचालक प्रवेश अधिकारीले बताउनु भयो ।

पर्यटकहरुको सहजताका लागि धुलिखेल नगरपालिकाले ३६ वटा पार्क निर्माण गरिसकेको छ भने केहि निर्माणाधिन अवस्थामा छन् । हरियाली सहितको सडकको दायाँबाँया फुटपाथ निर्माण, रातिको समयमा झिलिमिली बनाउन सोलार र अन्य बत्तिहरु, इलेक्ट्रिक बसको चार्ज स्टेशन निर्माण शुरु गरिएको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो । नगरपालिकाले आर्थिक समृद्धीका लागि ९ सय ब्यक्तिलाई ब्यवसायीक सिप प्रदान गरिएको छ भने १६ वटा समुहलाई उद्यमी बनाईएको छ । औद्योगिक ग्राम निर्माण गरी अक्सिजन उद्योग स्थापना, नगरका विभिन्न स्थानमा फ्रि वाईफाई जोन, शहरको सुरक्षाका लागि सिसि क्यामेरा जडान लगायतका पूर्वाधारहरु निर्माण गरिएको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्