रियल मेड्रिडको कठिन जित



मेड्रिड, (एजेन्सी) ।

स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा उपाधि दाबेदार रियल मड्रिडले कठिन जित निकालेको छ ।

कार्लो एन्सेलोट्टीको नेतृत्वमा रहेको रियलले शनिबार राति भएको नयाँ सिजनको तेस्रो खेलमा रियल बेटिसमाथि १–० को झिनो गोलअन्तरको जित निकालेको हो । बेटिसलाई उसकै घरेलु मैदानमा हराउन रियलले ठूलै संघर्ष गर्नुपरेको थियो ।

पाहुना टोली रियलमाथि खेलभरि नै चर्को दबाब बनाएर खेल आफ्नो पकडमा राखेको बेटिसले पहिलो हाफमा आफ्नो गोलपोस्ट बचाएको थियो । तर, खेलको ६१औं मिनेटमा भने रियलका लागि डिफेन्डर ड्यानी कार्भाहालले गोल गरेर पाहुना टिमलाई अग्रता दिलाएका थिए । अन्ततः सोही एक गोल नै रियलको जितमा निर्णायक बन्यो ।

सो गोलमा करिम बेन्जेमाले असिस्ट मिलाएका थिए । बेन्जेमाले मैदानको माथिल्लो भागबाट दिएको क्रस पासमा पोस्ट नजिक पुगेका कार्भाहालले लो भलीमा हानेको कडा प्रहारले पोस्टको माथिल्लो बार च्यापेर जाली चुमेपछि बेटिसका गोलकिपरले बचाउने कुनै मौका नै पाएनन् ।

योसँगै बेन्जेमाले नयाँ सिजनमा दुई गोल र दुई असिस्ट गरिसकेका छन् । आफ्नो मैदानमा बेटिसले रियलविरुद्ध बलमा बलियो पडक राखेको थियो । रियलका गोलकिपर थिबाउट कोर्टुवा पर्खाल बनेर उभिएपछि बेटिस प्रयास विफल भएका थिए । यो जितपछि रियल मड्रिड नयाँ सिजनका तीन खेल सकिँदा अपराजित छ । रियलले तीनमध्ये दुई खेल जितेर एक खेल बराबरी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्