चेल्सी र लिभरपुलको बराबरी



लन्डन, (एजेन्सी) ।

इंग्लिस प्रिमियर लिग फुटबलका दुई हेभिवेट क्लब लिभरपुल र चेल्सीले बराबरी खेलेका छन् ।

यो सिजनमा शानदार सुरुआत गरेको लिभरपुल तेस्रो साताको खेलमा बराबरीमा रोकिएको हो । शनिबार राति भएको उक्त खेलमा चेल्सीसँग एक गोलले पछि परेको स्थितिलाई उल्ट्याएर लिभरपुलले हार पन्छाएको हो । आफ्नो घरेलु मैदान एन्फिल्ड रंगशालामा भएको खेलमा लिभरपुलले पहिलो गोल बेहोरे पनि पेनाल्टी गोलको मद्दतमा हार पन्छाएको हो ।

लिभरपुलको घरेलु मैदानमा पाहुना टोली चेल्सीका लागि खेलको २२औं मिनेटमा जर्मन युवा खेलाडी काई हाभर्ट्जले हेडिङमार्फत् शानदार गोल गरेका थिए । कर्नर किकबाट आएको बलमा सबैभन्दा अघि रहेका हाभर्ट्जले हेडिङमार्फत् उत्कृष्ट गोल गरेका थिए । उनको हेडिङ टचमा लिभरपुलका गोलकिपर एलिसन बेकरले बल रोक्न ठूलै प्रयास गरे पनि सफल हुन सकेनन् ।

तर, पहिलो हाफको इन्जुरी समयमा लिभरपुल खेलमा फर्कियो । चेल्सीविरुद्ध लगातार आक्रमण बुनिरहेको लिभरपुलको प्रहारमा चेल्सीका खेलाडी रिच जेम्सले गोल लाइनमा उभिएर बल रोक्ने क्रममा लगातार दुईपटक हातले बल छेकेपछि रेफ्रीले भिएआरमार्फत् रिभ्यु गरेर उनलाई सोझै रातो कार्ड दिएका थिए । जेम्सको उक्त गल्तीका लागि लिभरपुललाई पेनाल्टीको अवसर दिएको थियो । जसमा मोहमद सालाहले गोल गर्दै खेल १–१ बनाए ।

त्यसपछि दोस्रो हाफमा घरेलु टोली लिभरपुलले चेल्सी १० खेलाडीमा खुम्चिएको फाइदा उठाउन सकेन । चेल्सीले दोस्रो हाफमा पूरै रक्षात्मक खेल्दा लिभरपुलले विजयी गोल गर्न सकेन । खेलभरि नै चेल्सीमाथि लिभरपुल हावी भए पनि बराबरीमै चित्त बुझाउन बाध्य भयो ।

यससँगै लिभरपुलले यो सिजन लिगमा पहिलोपटक गोल बेहो¥यो । लिभरपुलले यसअघि दुई खेलमा एक गोल पनि बेहोरेको थिएन भने पछिल्ला चार गोलमा लगातार क्लिन सिट राखेको थियो । यो बराबरीपछि चेल्सी र लिभरपुलको समान ७ अंक भएको छ ।

शनिबारै भएका अन्य खेलमा म्यानचेस्टर सिटीले आर्सनललाई ५–० ले हराउँदा लेस्टर सिटीले पनि नर्विच सिटीमाथि २–१ को जित निकाल्यो । त्यस्तै, एभर्टनले ब्राइटनलाई २–० ले पराजित गर्दा एस्टन भिल्ला र ब्रेन्टफोर्डले १–१ गोलको बराबरी खेल्दै समान अंक बाँडे ।

प्रतिक्रिया दिनुहोस्