पहिरोमा परेर उपमेयरका छोराको मृत्यु



सियाराम मंडल, जलेश्वर ।

बिपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी गाउपालिका वडा न. ७ लास्कोटबेसीमा पहिरोसँगै ढुंगा खस्दा मोटर साइकलमा सवार एक युवकको मृत्यु भएको छ । काठमाडौंबाट जनकपुरतर्फ आउँदै गरेको ज. ८ प. ७४९० नम्बरको मोटरसाइकलमा सवार महोत्तरीको रामगोपालपुर वडा न. ८ गोइठी बिर्ता बस्ने २८ वर्षीय सरोज साहको मृत्यु भएको छ भने जनकपुर रामानन्द चौक बस्ने ३० वर्षीय सतिस साह घाइते भएका छन् ।

दुवै ढुंगा लागेर घाइते भएपछि धुलिखेल अस्पतालमा उपचारको क्रममा साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । सडकको माथिबाट खसेको ढुंगा लागेर घाइते भएकालाई प्रहरीले उद्धारको लागि धुलिखेल अस्पताल लगेका थिए ।

मोटरसाइकल चालक साहको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते साहको अवस्था सामान्य रहेको तथा थप उपचार भैरहेको प्रहरीले जनाएको छ । मृतक साह महोत्तरीको रामगोपालपुर नगरपालिकाको उपमेयर सीता साहको छोरा हुन् । मृतक साहको शव लिन परिवारजन धुलिखेल तर्फ प्रस्थान गरिसकेको रामगोपालपुरका प्रमखु अशोक मण्डलले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्