सुदूरपश्चिममा धुमधमका साथ भित्रयाइयो गौरा



विमल विष्ट, डोटी ।

सुदूरपश्चिम प्रदेशको प्रमुख पर्वका रुपमा चिनिदै आएको गौरा आज धुमधामका साथ भित्रयाइएको छ । सुदूरपश्चिममा मनाइने विभिन्न चाडपर्व मध्ये गौरा पर्वलाई विशेष महत्वका साथ लिइने गरिन्छ । आज आइतबार यहाँका हिन्दु महिलाहरुले नजिकै रहेका खेतबाट गौरालाई गौराघरसम्म भित्रयाएका हुन् ।

सप्तमीका दिन साउँ (एक प्रकारको वनस्पति) बाट पार्वतीको प्रतीकको रुपमा गौराको मूर्ति बनाइ भित्रयाएक हुन् । गौरालाई खेतबाट बाजागाजाका साथ महिलाले गौराघरसम्म भित्रयाउने चलन अनुसार डोटी सहित समग्र सुदूरपश्चिममा गौरा भित्रयाइएको सायल गाउँपालिकाका ज्योतिस तथा पण्डित चेजराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार सप्तमीका दिन गौरा देवी भित्रयाएपछि अष्टमीका दिन दुबोको पूजासहित गौरा र महेश्वरको विवाह गरिन्छ ।

गौरालाई अष्टमीका दिन पूजाआजा गर्दै, माङ्गल गानका साथमा नचाइन्छ । गौरा आर्थात् शिवकी पत्नी, हिमालयकी छोरीलाई भन्ने बुझिन्छ । गौरीले कडा उपासना गरी शिवलाई पतिको रुपमा प्राप्त गरेको स्मरणमा सुदूरपश्चिम प्रदेशमा गौरा मनाइने चलन रहेको जोरायल गाउँपालिका–५ का पुजारी डिल्लीराज जोशीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “शिव पति पाउन पार्वतीले गरेको कठोर तपश्या जस्तै यहाँका महिलाले पनि गौरा देवीको निकै तपश्या गर्छन, सुदूरपश्चिममा यस पर्वको आफ्नै विषेश खालको महत्व रहेको छ ।” गौराको सुरुवात हरेक वर्ष भाद्र शुक्ल पक्ष पञ्चमीमा हुन्छ, जसलाई बिरुडा पञ्चमी पनि भनिन्छ । सो दिन बिरुडा (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको सुरुवात हुन्छ ।

गौरा स्थापना गर्ने ठाउँ लिपपोत गर्न शुद्ध माटो ल्याउने, प्रतिप्रदामा लिपपोत गर्ने, द्वितीया/तृतीयामा ब्रतालुले लत्ताकपडा धुने÷नुहाउने र चतुर्थीमा विरुडाका लागि गेडागुडी केलाउनेलगायतका काम गरिने चलन रहेको दिपायल राजपुरकी गौरीदेवी शाहले जानकारी दिनुभयो । उहाँका अनुसार विरुडा पञ्चमीमा भिजाएका बिरुडालाई षष्ठीका दिन पखालिन्छ अर्थात धुने चलन रहेको छ ।

पखालिएका ती बिरुडालाई पूजाआजाका क्रममा प्रसाद तथा अक्षताका रुपमा प्रयोग गर्ने प्रचलन छ । गौरा पर्वमा चैत, धमारी, पुराना वीर योद्धा, राजामहाराजाका वीरगाथाका बारेमा गित बनाई खेल खेल्ने चलन रहेको छ । ठाउँ र जिल्ला अनुसार यहाँ गौरा पर्वमा डेउडा खेल समेत खेलिने प्रचलन रहिआएको छ ।

सप्तमीमा भित्र्याइएको गौरा प्रतीकलाई कम्तीमा पनि पाँच रातसम्म राख्ने गरिन्छ । पाँच रातसम्म गौरा घरमा डेउडा, फाग, चैत, धमारी खेल्ने गरिन्छ । भाद्र शुक्ल सप्तमीको दिन भित्रयाइने गौराले सुदूरपश्चिमका गाउँबस्तीमा भदौ महिनामा निकै रौनकता थप्ने गदर्छ । सप्तसती देवीले दक्षको अग्नि कुण्डमा हाम फाल्दा आफ्नो सुक्ष्म रुपलाई हरियो घाँसमा छिपाई भौतिक देह बिसर्जन गरेकाले हरियो घाँसमा सतीदेवीको बास हुन्छ भन्ने मान्यता पनि रही आएको छ ।

त्यहीअनुसार धानमा उम्रने साउँ घाँससहितको समष्टिगत रुप बनाई पूजा गर्ने परम्परा रहेको दिपायलका पण्डित मेखराज भट्टले जानकारी दिनुभयो । यसरी गौरा देवीको पूजाआजा गर्दा विवाहित महिलाले आफ्नो पतिको दीर्घायूका साथै घरमा सुख शान्ति हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ । यसपर्वमा महिलाले एक वर्षका लागि ‘दुबे–धागो’ लगाउने चलन रहेको जोरायल गाउँपालिका–२ रिठागाउँकी स्थानीय महिला धर्मादेवी जोशी पाठकले बताउनुभयो ।

गौरामा महिलाहरूले ग्रहण गर्ने दुबे–धागोको महत्व हिन्दु पुरुषले लाउने जनैसरह नै हुने गरेको उहाँको भनाइ छ । ब्रतालुले दुब–धागो पहिरेपछि मात्रै शुद्ध मानिन्छन् । दुबे–धागोलाई शास्त्रमा ‘सप्तम्या’ (सातओटा गाँठोको डोरा) भनिएको छ । शास्त्र अनुसार महिला वैवाहिक संस्कारबाट मात्र शुद्ध नहुने हुँदा दुबे–धागो पहिरिनुपर्छ भनिएको छ ।

गौरापर्व यहाँका डडेल्धुरा, बैतडी, दार्चुला, अछाम, बझाङ, बाजुरा, कैलाली, कञ्चनपुर तथा डोटीमा मनाउने चलन रहेको छ । गौरा पर्व यस क्षेत्रको मौलिक पर्व मात्र नभई आपसी सद्भाव बढाउने पर्व भएको स्थानीयवासी बताउँछन् । गौरा पर्वको समयमा कामका लागि जिल्ला छोडेर बिदेशिएका हरुपनि घर फर्किइ रहेकाले पनि यहाँका गाउँघरमा अहिले चहल पहल बढ्दै गएको केआइसिंह गाउँपालिकाका स्थानीयवासी शेरबहादुर ऐरले बताउनुभयो ।

उता यहाँको स्थानीय प्रशासनले कोरोना सङ्क्रमणको जोखिम जिल्लामा कायमै रहेको भन्दै गौरा पर्वमा भिडभाड हुँने गरी डेउडा लगायतका खेलहरु नखेल्न सबैमा आग्रह गरेको छ । जिल्ला प्रशासनले एक सार्वनिक सूचना प्रकासित गरी गौरादेवीको सामान्य पुजाआजा गरी समापन गर्न तथा भिडभाड नगर्न आग्रह गरेको हो ।

प्रतिक्रिया दिनुहोस्