माधव नेपाल बने १५ वर्षपछि संसदीय दलको नेता



न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल १५ वर्षपछि संसदीय दलको नेता चयन भएका छन् । विघटित प्रतिनिधिसभा पुनःस्थापित भएपछि नेता नेपाल १५ वैशाख २०६३ मा एमाले संसदीय दलको नेता चयन भएका थिए । उनी ११ जेठ २०६६ देखि २२ माघ २०६७ सम्म करिब १८ महिना देशको प्रधानमन्त्री बने । ०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनमा उनी काठमाडौं र रौतहट दुवै निर्वाचन क्षेत्रबाट पराजित भएका थिए ।

२०७० को दोस्रो संविधानसभा निर्वाचनपछि झलनाथ खनाल संसदीय दलको नेता चयन भएका थिए । २०७४ निर्वाचनपछि केपी ओली संसदीय दलको नेता चयन भए । अध्यक्ष नेपाल आइतबार संसद भवनमा बसेको संसदीय दलको बैठकले नेपाललाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको हो ।

यस्तै राष्ट्रियसभामा संसदीय दलको नेतामा बेदुराम भुसाल चयन भएका छन् । उनी पनि सर्वसम्मत नेता चयन भएका हुन् । एमालेमा विद्रोह गर्दै नेता नेपालको अगुवाइमा नयाँ दल बनेको थियो । निर्वाचन आयोगले गत बुधबार सो नयाँ दललाई दल दर्ताको प्रमाण पत्र दिएको थियो । दलले वैधता पाएपछि सो दलले ५ सदस्यीय स्थायी कमिटी पनि गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्