म्यानचेस्टर युनाइटेडको मार्केट भ्यालु ह्वात्तै बढ्यो



लन्डन, (एजेन्सी) ।

पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो युभेन्ट्सबाट इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड जाने पक्का भएसँगै उक्त क्लबको मार्केट भ्यालु ह्वात्तै बढेको छ ।

शुक्रबार राति मात्र इटालियन सिरी ए क्लब युभेन्ट्सबाट युनाइटेडले आफ्ना पूर्वखेलाडीलाई अनुबन्ध गरेको खबर सार्वजनिक भएसँगै युनाइटेडको मार्केट भ्यालुले अपत्यारिलो छलाङ मारेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका हुन् । रोनाल्डो अनुबन्धको घोषणा गरेको मात्रै एक घन्टाभित्र इंग्ल्यान्डको स्टक मार्केटमा म्यानचेस्टर युनाइटेडको सेयर मूल्य २ सय १२ मिलियन पाउन्ड पुगेको जनाइएको छ । युरोपको स्टक माकर्टेमा कुनै पनि फुटबल खेलाडीको स्थान्तरणपछि छोटो समयमा यति धेरै सेयरको मूल्य बढेको यो नै कीर्तिमानी रहेकोसमेत उल्लेख गरिएको छ ।

शुक्रबार इंग्ल्यान्डको स्टक मार्केट खुला हुँदा म्यानचेस्टर युनाइटेडको प्रतिसेयर मूल्य १२.६२ पाउन्ड थियो । त्यसबेला रोनाल्डो म्यानचेस्टर युनाइटेड फर्किने कुनै चर्चा नै शुरू भएको थिएन । जब रोनाल्डो म्यानचेस्टर युनाइटेड फर्किने पक्का भएको खबर बाहिरियो त्यसपछि स्टक मार्केटमा क्लबको सेयर मूल्य सुरूआती एक घन्टाको बीचमा १२.६२ पाउन्डबाट १३.८७ पाउन्ड पुगेको बताइएको हो । यो आंकडा कुल सेयर संख्याका आधारमा क्लबको मार्केट भ्यालुको कुल २ सय १२ मिलियन पाउन्डले वृद्धि भएको हो ।

मात्रै एक घन्टामा युनाइटेडको मार्केट भ्यालु २ सय १२ मिलियन पाउन्डले बढ्नु भनेको नेपाली रुपैयाँमा झन्डै ३४ अर्ब ५७ करोडभन्दा बढीले वृद्धि हुनु हो । यो क्रममा अझै बढ्ने फुटबल विश्लेषकहरूले दाबी गरेका छन् ।

स्पेनिस चर्चित पत्रिका ‘मार्का’ ले त लियोनल मेसी बार्सिलोनाबाट फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्ध हुँदाको पहिलो घन्टामा पीएसजीको सेयर मार्केटमा मूल्य जति बढेको थियो, त्यसको अनुपातमा रोनाल्डो म्यानचेस्टर युनाइटेडमा अनुबन्ध हुँदा ६९.२४ प्रतिशतले इंग्लिस क्लबको सेयरको मूल्य बढेको लेखिएको छ ।

रोनाल्डोको जर्सीको व्यापार त अझै शुरू नै भएको छैन । रोनाल्डो इंग्ल्यान्ड फर्किएसँगै उनी सार्वजनिक हुने कार्यक्रम तय भएपछि म्यानचेस्टर युनाइटेडले रोनाल्डोको जर्सीसमेत सार्वजनिक गर्नेछ । रोनाल्डोको जर्सीको व्यापारमा म्यानचेस्टर युनाइटेडले फुटबल इतिहासमै रेकर्ड बनाउने इंग्लिस सञ्चार माध्यमहरूले दाबी गरेका छन् । रोनाल्डो म्यान्चेस्टर सिटीमा जाने हल्ला चले पनि उनी १९ दशमलव ४ मिलियन पाउन्डमा म्यानचेस्टर युनाइटेडमा पुनः आबद्ध भएका छन् ।

प्रतिक्रिया दिनुहोस्