काठमाडौं ६ मा टुकोनको क्षेत्रीय समिति गठन



काठमाडौं ।

राप्रपा निकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन)ले काठमाडौं जिल्ला क्षेत्र नं. ६ मा क्षेत्रीय कार्य समिति गठन गरेको छ । तारकेश्वरमा आयोजित श्रमिकहरुको भेलाले शिव बहादुर पौडेलको संयोजकत्वमा ११ सदस्यीय क्षेत्रीय कार्य समिति गठन गरेको हो ।

नवगठित समितिलाई शुभकामना दिंदै राप्रपाका केन्द्रीय कार्य सम्पादन समिति सदस्य एवं ट्रेड युनियन महासंघ नेपाल (टुकोन)का अध्यक्ष हिक्मत जंग भण्डारीले श्रमिकका पक्षमा ठूलाठूला आदर्शका कुरा गर्ने राजनीतिक पार्टीहरुले २०४६ पछि हालसम्म श्रमिकहरुको हकहितको बारेमा यथेष्ठ पहल गरेको भए आज नेपाली श्रमिकहरु विहान बेलुकाको छाक टार्नकै लागि विदेशी भूमिमा रगत पसिना बगाउन जानुपर्ने अवस्था आउँदैनथ्यो भन्दै अब ट्रेड युनियन महासंघ नेपाल (टुकोन)ले देशव्यापी संगठन विस्तार गर्दै श्रमिक वर्गको हितमा आवाज वुलन्द पार्ने बताउनुभयो ।

टुकोनका वरिष्ठ केन्द्रीय सदस्य राजकुमार खड्काको सभापतित्वमा सम्पन्न सो भेलालाई टुकोनका बरिष्ठ उपाध्यक्ष बालकुमार श्रेष्ठ, प्रथम उपाध्यक्ष आनन्द कुमार रिसाल, उपमहासचिव कुमार वस्नेत, राप्रपा काठमाडौं ६ का क्षेत्रीय अध्यक्ष टंक अधिकारी, राप्रपाका केन्द्रीय सदस्य प्रेमनाथ दुलाल, सविन थापा, राजकुमार थापा, निश्चल कोइराला लगायतले सम्बोधन गर्नुभएको थियो ।

नवगठित समितिका सदस्यहरुमा जीवन कुमार गौतम, राजकुमार बराल (विनय), रमेश तामाङ, सुमन खड्का, गणेश गोदार, सुरेन्द्र श्रेष्ठ, नानी घिमिरे, रुपक तिवारी, रिमा वि.क. र दिपक सुन्दास रहनुभएको छ ।

सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी राप्रपा प्रवेश गर्नेहरुमा सुरेन्द्र श्रेष्ठ, रमेश तामाङ, गणेश गोदार, पुष्कर थापा, सविन कार्की, अन्नपूर्ण थापा, सिता रानामगर लगायत दर्जनौं युवाहरु रहनुभएको थियो । यसैगरी शनिबार नै सम्पन्न ट्रेड युनियन महासंघ नेपाल (टुकोन) आवद्ध ‘टुकोन युथ काउन्सिल’ को केन्द्रीय कार्य समितिको बैठकले देशव्यापी संगठन विस्तार गर्ने र चाँडै नै युवाहरुको भेला काठमाडौंमा गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्