अधिकांश हत्या परिवारजनबाटै



रामधन राई, खोटाङ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ मुढेस्थित काँडे बस्ने २३ बर्षीय नारायण थापाले आफ्नै माईला दाजुलाई भैंसी बाँध्ने नाईलनको डोरीले घाँटीमा कसेर हत्या गरे । घर नजिकैको सल्लाघारीमा रहेको भोटेपिपलको रुखमा घाँटी कसी ३३ बर्षीय गिरिराज थापाको हत्यामा संलग्न भएको अभियोगमा मृतककै भतिज पर्ने १५ बर्षीय एक किशोरलाई सहित अभियुक्त नारायणलाई प्रहरीले पक्राउ गरे ।

यो घटना भदौ–९ गते बेलुकीको हो । घरायसी झगडा र दाजुभाईबीचको मनमुटावबाट घटना सिर्जना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता प्रहरी निरीक्षक सागर शाहले जनाउनुभयो । घटना लगत्तै प्रहरीले अभियुक्तहरुलाई पक्राउ गरी भदौ १० गते जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान अघि बढाएको छ ।

असार १३ गते भुईंमा उज्यालो नखस्दै दिक्तेल सोल्माका सुवर्ण राईले आफ्नो बयोबृद्दा बुवाको हत्या गरे । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मा पर्ने सोल्माका २० बर्षीय राईले बिहानको अन्दाजी ४ बजे खुकुरी प्रहार गरी ७५ बर्षीय बुवा चन्द्रकुमार राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका तत्कालिन प्रहरी निरीक्षक अमरप्रसाद गजमेरले जनाउनुभयो ।
छोराले बुवाको किन हत्या गरेको भनेर कारण खुल्न सकेको छैन । यद्यपी, राती सुतेको समयमा आफुलाई बुवाले मारेको सपना देखेकोले वुवाको हत्या गरेको भन्ने गाउँमा हल्ला चलेको स्थानीय बताउँछन् । तत्कालै पक्राउ गरिएको सुवर्णलाई कानुनी कार्वाहीको दायरामा ल्याइएको प्रहरीले जनाएको छ ।

हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेस्थित चिचिङ्गाकी २१ वर्षीया शिक्षा राई मृत अवस्थामा फेला परेपछि उनका श्रीमान मनकुमार राई पक्राउ परेका छन् । भदौ–७ गते राती मृत फेला परेका राईलाई उनकै श्रीमानले हत्या गरेको दाबी गरेको छ । राई घरको बरण्डामा झुण्डिएको अवस्थामा फेला परेको भनिए पनि झुण्डिएको या झुण्ड्याईएको केही पनि नभएर हत्या भएको आफन्तको जिकिर छ ।

घटनाको खबर पाउनासाथ भोलिपल्ट बिहान माइतीपक्ष शिक्षाको घर पुग्दा उनको शव भुईंमा राखिएको र डोरी मात्र झुण्डिएको देखाईएको मृतकका काका ज्ञानबहादुर राईको भनाई छ ।

मुख तथा अनुहार रगताम्य तथा पाखुरा, कोखा लगायतका स्थानमा निलडाम भएको शिक्षको शब प्रहरी पुग्दा समेत झुण्डिएको अवस्थामा नभएको आफन्तको भनाई छ । पत्रकार सम्मेलन गर्दै आफन्तले शिक्षाको मृत्यूमा शंकैशंका भएको जनाएका छन् ।

शव शंकास्पद अवस्थामा देखिएकाले उनको श्रीमानविरुद्द कर्तव्य ज्यान सम्बन्धी मुद्दाको किटानी जाहेरी दिइएको मृतकका काका ज्ञानबहादुर राई बताउनुहुन्छ । मृतकका श्रीमानविरुद्द कानूनी कारवाही गरी पाउँ भनेर प्रहरीमा किटानी जाहेरी दिएको आफन्तको भनाई छ । तर प्रहरीले हत्या भएको होईन भन्दै जाहेरी लिन नमानेको आफन्तको सुनाउँछन् ।

भदौ–९ गते प्रहरीले शिक्षा हत्याको किटानी जाहेरी लिन पटक–पटक अस्वीकार गरेपछि प्रहरीकै सल्लाहमा मृतकका श्रीमानविरुद्द आत्महत्या दुरुत्साहनको जाहेरी लिएर गएको पीडितका काका ज्ञानबहादुर राईको भनाई छ । उक्त जाहेरी लगत्तै मनकुमारलाई पक्राउ गरी कार्वाही प्रक्रिया अघि बढाईएको प्रहरीले जनएका छन् ।

किटानी जाहेरी लिन नमानेपछि अन्य न्यायिक निकायमा जाने परिवारको तयारी छ । घटनास्थलमा आफू स्वयम् पुगेर हेर्दासमेत उनको हत्या भएको नदेखिएको प्रहरी निरीक्षक सागर साहको दाबी छ । अनुसन्धानको क्रममा हत्या नै भएको रहेछ भन्ने पुष्टि भएमा हत्या गरेको किटानी जाहेरी मागेर कारवाहीको प्रक्रिया अगाडि बढाउने साहले स्पष्ट पार्नुभयो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ माइती भएकी शिक्षाले वर्ष दिनअगाडि मनकुमारसँग प्रेम विवाह गरेकी थिइन् । बाम्राङ माइती घर बसेर दिक्तेलस्थित सरस्वती माविको कक्षा–१२ मा अध्ययनरत शिक्षा केही महिनाअघि मात्र चिचिङ्गा श्रीमानको घर गएकी थिइन् ।

यी परिवारजनबाट भएका र जोडिएका हत्याका केही प्रतिनिधि घटना हुन् । जिल्लामा हुने हत्याका अधिकांश घटना परिवारजनबाटै हुने गरेको पाईएको छ । श्रीमान–श्रीमति, दाजु–भाई, बावु–छोरा,,काका–भतिज, ससुरा–बुहारी, जेठाजु–बुहारी तथा देवर–भाउजु, चेली–माईतीबीच एक–आपसमा हत्या हुने गरेको अनौपचारिक क्षेत्र सेवा केन्द्र(ईन्सेक)को तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्