निषेधाज्ञामा विदेशी पर्यटकलाई उपल्लो मुस्ताङ घुम्ने अनुमति



दुर्गाप्रसाद शर्मा,पर्वत ।

निषेधाज्ञाको समयमा पनि हिमालपारिको जिल्ला मुस्ताङ्गको उपल्लो क्षेत्रमा घुम्नका लागि विदेशी पर्यटकलाई अनुमित दिएको छ ।
मुस्ताङमा निषेधाज्ञाको कारण देखाउँदै नेपाली पर्यटकलाई सीमानाका घाँसाबाटै फर्काइने गरिएको भएपनि विदेशी पर्यटकलाई भने निषेधाज्ञा जारी रहेकै अवस्थामा मुस्ताङ प्रवेशको अनुमति दिइएको हो ।

निषेधाज्ञा उलंघन गर्दै श्रावण २६ गते अष्ट्रेयन नागरिक ( पुरुष ) मुस्ताङ प्रवेश गरेका छन । कास्कीको मर्दी हिमालक्षेत्रको अनुमति मात्र लिएर आएका ती अष्ट्रेयन नागरिकको साथमा मुस्ताङ घुम्नका लागि अनुमति नरहेको श्रोतले जनाएको छ । बिनाअनुमति आएका ती विदेशी पर्यटकलाई मुस्ताङ प्रवेशको अनुमति दिन स्थानीय प्रशासनसमक्ष श्रावण २६ गते वारागुङ मुक्तिक्षेत्र गापाले सिफारिस गरेको थियो । उपल्लो मुस्ताङको ऐतिहाँसिक तथा पुरातात्विक गुम्बा र छोर्तेनको अध्ययन अवलोकनलाई उपल्लो मुस्ताङ जाने अनुमति पाएका उक्त अष्ट्रेलियन नागरिक भदौको १७ गतेसम्म उपल्लो मुस्ताङमै रहने बताइएको छ ।

कोरोना जोखिमको बेला नेपाली पर्यटक नै मुस्ताङ आउँदा समस्या हुने अवस्थामा पालिकाकै सिफारिसमा स्थानीय प्रशासनले मुस्ताङ प्रवेश गर्ने अनुमति दिएको जिल्ला प्रशासन कार्यालय पर्वतले जानकारी दिएको छ । उपल्लो मुस्ताङको लोमान्थाङ गापाको सिफारिसमा उक्त विदेशीलाई उपल्लो मुस्ताङ भ्रमण गर्ने अनुमतीको सिफारिस स्थानीय प्रशासनलाई गरेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताउनुभयो ।निषेधाज्ञा जारी गरिएको मुस्ताङमा दुई साताअघि मुस्ताङ प्रवेश गरेका अष्ट्रेयन नागरिक पुरुषको साथमा एक महिला पथप्रर्दशक समेत रहेकी छन । उनीहरु पालिकाकै समन्वयमा वारागुङ मुक्तिक्षेत्र–२ झारकोटमा बसेका थिए । बिनापरमिट मुस्ताङ आएका उक्त विदेशी पर्यटकलाई अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना एक्यापले जरिवानासहित परमिट काटेको पाइएको छ । उपल्लो मुस्ताङको ऐतिहासिक धार्मिक ,सांस्कृतिक सभ्यता र संरचनालगायतको अध्ययन अवलोकन गर्ने उद्देश्यले मुस्ताङ प्रवेश गरेका ती विदेशी पर्यटकले अध्यागमन विभागको अनुमति लिएका थिएनन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको स्वामित्वमा रहेको मुस्ताङ भ्रमण गर्न नेपाली पर्यटकले १ सय, सार्कका विदेशी पर्यटकले १ हजार र तेस्रो मुलुकका विदेशी पर्यटकले ३ हजार शुल्क तिरेर अनुमति लिनुपर्ने हुन्छ ।कोरोना भाइरसको दोस्रो भेरियन्टसँगै हिमाली जिल्ला मुस्ताङमा गत वैशाखदेखि लगातार स्थानीय प्रशासनले पटक-पटक निषेधाज्ञा जारी गर्दै आएको छ। मुस्ताङमा कोरोना भाइरसको जोखिम कायम रहेको भन्दै पछिल्लो समय भदौ १५ गतेसम्मका लागि स्थानीय प्रशासनले निषेधाज्ञा लम्ब्याएको छ। निषेधाज्ञा जारी गरिएपछि मुस्ताङमा आन्तरिक तथा बाह्रय पर्यटकको आवागमन शून्य छ । तर, जिल्ला भित्रका स्थानीयलाई भने स्थानीय तहको समन्वयमा जिल्ला प्रवेश गर्न अनुमति दिइएको छ । कोरोना कहरकै कारण गत वैशाखदेखि मुक्तिनाथ मन्दिर र कागबेनीमा पूजापाठमा पूर्णरुपमा रोक लगाइएको छ ।
समाप्त भदौ १२

प्रतिक्रिया दिनुहोस्