कांग्रेस पौडेल पक्षको निष्कर्ष : जिल्ला सभापतिले अनसन तोड्दै



न्युज अफ नेपाल , काठमाडौं ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरुले अनसन तोड्ने भएका छन् । शुक्रबार साँझ कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासँग वरिष्ठ नेता पौडेलसँग महाधिवेशनका बारेमा सहमति भएपछि जिल्ला सभापतिहरुले अनसन तोड्न लागेका हुन्।

भेटवार्तामा दोहोरो मापदण्ड खारेज गर्नुपर्ने लगायतका विषयमा नेताबीच सहमति भएपश्चात् चार दिनदेखि जिल्ला सभापतिहरुले बस्दै आएको अनसन तोड्न लागेका हुन्।

बैठकमा सहभागी काठमाडौं जिल्ला सभापति सबजु बानियाँले भने, ‘अब सिंगो टिमनै महाधिवेशन सफल पार्न लागि पर्नेछ । अनशनमा बस्नुभएको सभापतिहरु पनि आज अनसन तोड्नुहुन्छ र महाधिवेशन सफल बनाउन लाग्नुहुन्छ । क्रियाशील सदस्यको नियम अनुसारनै टुङ्गो लगाउने कुरा भएको छ ।’

प्रारम्भिक चरणमा ४८ जिल्लाका क्रियाशील सदस्यको नाम पार्टी वेबसाइटमा प्रकाशित गरिसकेको र बाँकी क्रमश सार्वजनिक गर्दै जाने काङ्ग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

बैठकमा नेताहरू रामशरण महत, मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, नुवाकोट जिल्ला सभापति जगदीश्वरनरसिंह, धादिङ सभापति रमेश धमला, काठमाडौं सभापति सबुज बानियाँलगायत थिए ।

प्रतिक्रिया दिनुहोस्