फलाम पगाल्ने भट्ठी विस्फोट भएर आगलागी हुँदा १५ जना मजदुर घाइते



कृष्णउदास खनाल, वीरगन्ज ।

वीरगन्ज महानगरपालिका वडा नम्बर २२ मनियारीमा रहेको सर्वोत्तम स्टिल उद्योगमा बिहीबार फलाम पगाल्ने भट्टी विस्फोट भएर आगलागी हुदा १५ जना मजदुर घाइते भएका छन् ।ड्राइपोर्ट परवानीपुर सडकखण्ड स्थित मनियारीमा व्यावसायिक घराना सौरभ समूहले सन्चालनमा ल्याएको सर्वोत्तम स्टिल उद्योगमा आज दिउसो फलाम पगाल्ने भट्टी विस्फोट भएर आगलागी भएको हो ।

भट्ठी विस्फोट भएर आगलागी हुदा १५ जना मजदुर घाइते भएको जानकारी प्राप्त भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले बताउनुभयो ।घाइते १५ जना मध्ये ७ जनाको अवस्था गम्भिर रहेको खनालले बताउनुभयो ।घाइते हुने १५ जना मध्ये १२ जना भारतको , १ जना बाराको र २ जनाको भने ठेगाना खुल्न बाँकी रहेको खनालले जानकारी दिनुभयो ।प्रहरी नायव उपरिक्षक खनालका अनुसार , गम्भिर घाइते हुनेहरुमा भारत बिहारका ५२ वर्षिय विनोद पाण्डे , भारतकै उत्तर प्रदेशको लखनउका ५२ वर्षिय उमेश कुशवाहा , २० वर्षिय सुशिल कुमार , ३७ वर्षिय मानसीया कुमार , ३० वर्षिय रामपुकार यादव , बाराको छातापिपराका २२ वर्षिय टिंकु दास र ठेगाना खुल्न नसकेका २७ वर्षिय गगन नायक रहेका छन् ।

सामान्य घाइते हुनेहरुमा भारतको उत्तर प्रदेशको लखउनका १८ वर्षिय अमरनाथ सहनी , भारतकै खुशीनगरका ३२ वर्षिय धिरु सहनी, भारत बिहारका २१ वर्षिय दिपक कुमार , बिहारको दरभंगाका १८ वर्षिय रवि कुमार दास, बिहारकै छपराका २२ वर्षिय अवधेश यादव र २२ वर्षिय निकु कुमार , बिहारकै सिवानका ३० वर्षिय अरुण कुमार र ठेगाना खुल्न नसकेका २६ वर्षिय चिंकु दास रहेका छन् । घाइते सबैको वीरगन्जको गण्डक स्थित नारायणी बयोधा अस्पतालमा उपचार भइरहेको खनालले जानकारी दिनुभयो ।उद्योगमा भट्ठी विस्फोट भएर लागेको आगो, वीरगन्ज महानगरपालिकाबाट गएका २ वटा वारुण यन्त्रले निभाएका थिए ।

उद्योगमा भट्ठी विस्फोट भएर आगो लागेको जानकारी पाए लगत्तै महानगरपालिकाबाट दुइ वटा दमकल उद्योगमा पुगेर आगो निभाएको वीरगन्ज महानगरपालिकाको वारुणयन्त्र शाखाका अग्नि नियन्त्रक भीम प्रसाद दाहालले जानकारी दिनुभयो ।भट्ठी पड्कीएर त्यहाबाट उछिट्टीएको आगोले उद्योगका अन्य प्लान्टमा पनि लागेको आगो दमकलको मदतमा निभाइएको दाहालले बताउनुभयो ।प्रहरी नायव उपरिक्षक खनालले प्रहरी चौकी परवानीपुरका प्रहरी नायव निरिक्षक जिवन सुबेदी नेतृत्वको टोलीले उद्योगमा पुगेर घटना र क्षतिको विवरण संकलन गरिरहेको जानकारी दिनुभयो ।

उद्योगका सुरक्षा गार्ड र प्रहरीले भने भठ्ठी विस्फोट भएको स्थान सम्म सन्चारकर्मीलाइ जान रोक लगाएका छन् ।यस्तै घटना बारे थाहा पाएर उद्योगमा पुगेका मजदुरका आफन्त र गाँउलेहरुलाइ पनि प्रहरी र उद्योगका सुरक्षा गार्डले उद्योगको मूल प्रवेशद्धारमै रोकेर राखेका छन् । व्यवसायिक घराना सौरभ समुहले मनियारीमा सन्चालनमा ल्याएको देशकै सबै भन्दा ठूलो स्टिल उद्योगले गत साउन ५ गते देखि बिलेट र फलामको डण्डी उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्