१० दिनदेखि बन्द नगरपालिका क्षेत्र केही खुकुलो



रामधन राई,खोटाङ ।

कोरोना सङ्क्रमण रोकथाम तथा न्युनिकरणका लागि १० दिन अघिदेखि बन्दाबन्दी गरिएको खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका क्षेत्र केही खुकुलो पारिएको छ । दैनिकजसो कोरोना सङ्क्रमण दर बढ्दै गएपछि भदौ १ गतेदेखि बन्द गरिएको नगरपालिका क्षेत्रा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउने गरी शुक्रबारदेखि केही खुल्ला बनाउने निर्णय भएको हो ।

स्वास्थ्य सतर्कताका मापदण्ड पूरा गर्ने तथा गराउने गरी व्यापार–व्यवसाय, यातायात, पैदल हिँडडुल लगायत दैनिक जीवनका कार्यहरु गर्नमा सहज बनाईएको मेयर दिपनारायण रिजालले बताउनुभयो । यसअघि बिशेषगरी दिक्तेलबजारमा होटल–पसल, यातायात, हिँडडुल गर्न, दिक्तेलबजार सडक ढलान बाहेक अन्य निर्माण कार्य गर्न तथा ढोका खोली बाहिर निस्कन समेत बन्देज गरिएको थियो । १० दिनको बन्दले नगरपालिका क्षेत्रमा संक्रमणका खतरामा केही न्युनता आउने जनाईएको छ ।

दोश्रो भेरियण्टपछि जिल्लामा दुई हजार ८ सय १० जना संक्रमित पहिचान भएकामध्ये दुई हजार ६ सय ३९ जना निको भईसकेका छन् । हाल दुई सय १ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय खोटाङले उल्लेख गरेको छ । कोरोना संक्रमणबाट जिल्लामा १२ जनाको मृत्यू भएको छ ।

प्रतिक्रिया दिनुहोस्