लेक लागेकाे बिरामीको उद्धार



हेटौंडा, (नेस) ।

रसुवास्थित प्रसिद्ध धार्मिकस्थल गोसाईंकुण्ड दर्शनका लागि गएका १ भक्तजनको उद्धार गरिएको छ ।दर्शन गर्न जाने क्रममा अचानक लेक लागेर बिरामी भएपश्चात् जिल्ला प्रहरी कार्यालय, रसुवाबाट खटिएको टोलीले उद्धार गरेको हो । भक्तपुरको मध्यपुरठिमी नगरपालिका वडा–३ घर भएका करिब ४५ वर्षीय कल्काकुमार कुटु लेक लागेर बिरामी भएको अवस्थामा उद्धार गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय, रसुवाबाट खटिएको प्रहरी टोलीका साथै नेपाली सेना र मेलामा गएका अन्यसमेतको सहयोगमा बिरामीको उद्धार गरिएको छ । उद्धार गरी सोही दिन जिल्ला अस्पताल धुन्चेमा सामान्य उपचारपश्चात् थप उपचारका लागि उहाँलाई काठमार्डाै पठाइएको प्रदेश प्रहरी हेटौंडाले जनाएको छ ।

नियमित प्रहरी काम कारबाही, विपद् प्रतिकार्यमा प्रभावकारी परिचालनका साथै मानव कल्याणमा समेत बागमती प्रदेश प्रहरीले आफ्नो भूमिकालाई प्रभावकारीढंगबाट सम्पादन गर्दै आएको छ । आगामी दिनमा समेत यस किसिमका पुण्य कार्यहरुमा स्वतस्फुर्तरुपमा परिचालन गर्दै लैजाने बागमती प्रदेश प्रहरीको लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्