विकासको सफल उदाहरण बन्यो दुर्घटना



हेटौंडा, (नेस) ।

नेपालमा हालसम्म धेरै विमान दुर्घटना भएका छन् । तर, दुर्घटनाग्रस्त क्षेत्रमा पीडित परिवारको अग्रसरतामा यति ठूलो विकास भएको कतै पाइँदैन । त्यसैले क्षतिलाई ऊर्जाका रुपमा बदल्न सकिन्छ भन्ने गतिलो उदाहरण बनेका छन् अभिभावक । भन्छन्–विमान कम्पनीले अग्रसरता लिएर पीडित परिवारलाई समन्वय गर्ने हो भने दुर्घटनास्थललाई नमूना क्षेत्रका रुपमा विकास गर्न सकिन्छ ।

दुर्घटनाको उपजस्वरुप उक्त गाउँमा मात्र होइन, देशभर विभिन्न जिल्लामा विपन्न परिवारलाई सहयोग जारी छ । गाउँमा स्वास्थ्य क्लिनिक स्थापना भयो, जसका कारण एक चक्की सिटामोल लिन दुई घण्टा हिँड्नुपर्ने बाध्यता हट्यो । स्कुल जान नमान्ने केटाकेटी रमाइरमाइ जान थालेका छन् । नयाँ बाटो खुल्यो, गाउँघरमा फलेको अन्नबाली सदरमुकाम हेटौंडा ल्याउन सजिलो भएको छ ।दुर्घटना आफैंमा दुःखद् कुरा हो । नहुनुपर्ने दुःखद् घटनापछि कतिपय अवस्थामा प्रेरणादायी काम पनि हुने गर्छन् । मकवानपुरको शिखरपुरमा भएको जहाज दुर्घटनापछिको विकास यसको एउटा उदाहरण हो ।

जहाज दुर्घटनामा मृत्यु भएकाको स्मृतिमा शिखरपुरमा मोटरबाटोदेखि निःशुल्क स्वास्थ्य क्लिनिकसम्म सञ्चालनमा आएका छन् । मृतकका आफन्तले शिखरपुर गाविस–२, बस्तीपुरमा ३ कोठे विद्यालय भवन निर्माण गर्नुका साथै स्वास्थ्य क्लिनिक, कर्मचारी आवासगृह, पुस्तकालयदेखि मोटरबाटोसमेत निर्माण गरिदिएका छन् ।छतिवनको चिसापानी हुँदै बस्तीपुरसम्मको ६ किमी सडक मृतकका आफन्तकै अगुवाइमा निर्माण भएपछि स्थानीयले यातायात सुविधा पनि पाएका छन् । त्यहाँ २०६७ भदौ ८ गते विहान करिब ७ः३० बजे भएको दुर्घटनाका मृतकको सम्झनामा सोही स्थानमा करिब १६ फिट अग्लो बौद्ध स्मारक स्तुप बनाइएको छ । सोही स्तुपमा मंगलबार स्मृति पूजा गरिएको छ ।
विद्यालयको खेतमा निर्मित स्तुपमा राखिएको ताम्रपत्रमा सबै १४ मृतकको नामावली समावेश छ । दुर्घटनामा ८ नेपाली र ६ विदेशी नागरिकको ज्यान गएको थियो । अग्नि एयरको डोर्नियर विमान दुर्घटनामा परेको थियो ।

दुर्घटनामा मृत्यु भएकी परिचालिका सहारा शेर्पा, अमेरिकी नागरिक केन्द्रा डोम्निक्यु फालोन र जापानी नागरिक युक्की हायासीको स्मृतिमा देशभर सहयोग हुँदै आएको छ । मृतक शेर्पा ९२१०, हायासी र फालोन दुवै १९ वर्षीय थिए । तीनै परिवार र अग्नि एयरको सहयोगमा विमान दुर्घटनास्थलमा बकियाठाकुरलाई सहयोगका निम्ति स्काई फाउण्डेसन खडा गरिएको हो ।शिखरपुर, मन्थली र फापरबारी गाविसका १३ विद्यालयमा निरन्तर आर्थिक तथा भौतिक सहयोग हुँदै आएको छ । सहारा, केन्द्रा र युक्कीको पहिलो अक्षरबाट ९एसकेवाई० स्काई फाउण्डेसन निर्माण गरी विद्यालय र गाउँको विकास भइरहेको सहाराका बुबा तथा फाउण्डेसन अध्यक्ष दोर्जेछिरिङ शेर्पाले जानकारी दिनुभयो ।

‘दुर्घटनामा मृत्यु भएकी छोरीको सम्झनामा गाउँको विकास गर्ने सोच पलायो,’ शेर्पाले भन्नुभयो–हामी तीन परिवारको निजी खर्चमा सबै काम भइरहेको छ । छोरीको बिमाबाट आएको रकम पनि यही गाउँमा विकासमा लगायौं । बस्तीपुरको बकियाठाकुर निम्न माध्यमिक विद्यालयनजिक जहाज दुर्घटनामा परेको थियो । दुर्घटना भएको स्थलमै स्काई फाउण्डेसनले विद्यालय भवन निर्माण गरेको छ भने त्यससँगै स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याइएको छ ।क्लिनिकमा निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिन्छ । स्वास्थ्य सेवा प्रदान गर्न प्रतिष्ठानले एक जना सीएमए खटाएको छ भने औषधीसमेत उपलब्ध गराउँदै आएको छ । करिब ५ सय वटा किताब सहयोग गरी विद्यालयमा लाइब्रेरी सञ्चालनमा ल्याइएको छ ।बकियाठाकुरबाहेक ३ गाउँका ९ वटा विद्यालयमा छात्रवृत्ति प्रदान गर्नुका साथै ९ जना निजी शिक्षकलाई नियमितरुपमा तलब दिइरहेको शेर्पाले बताउनुभयो ।

छोरीको निधनको शोकलाई शक्तिमा परिणत गर्न आफू समाजसेवामा क्रियाशील भएको उहाँको धारणा छ ।प्रतिष्ठानले बकियाठाकुरमा कर्मचारी आवासगृह निर्माण गरेको छ । आवासगृहमा प्रधानाध्यापकसहित केही शिक्षक बस्दै आएका छन् । यसरी सहयोग नभएको भए विद्यालय बन्द हुने अवस्था थियो । दाताले स्कुले विद्यार्थीलाई छात्रवृत्तिदेखि शिक्षकहरुको तलबलाई पनि रकम छुट्याएका छन् ।१० जना शिक्षक रहेको विद्यालयमा ५ जनालाई निजी स्रोतबाट तलब दिइरहेको उहाँले बताउनुभयो । विद्यालयको जग्गामा मृतक विदेशी परिवारले जापानबाट ल्याएका चेरी ब्लोजम बिरुवा रोपेका छन् । मृतक युक्कीका बुबा टोसीयाकी र आमा मीसाले बिरुवा रोप्नुभएको हो ।

करिब ३ सय ५० विद्यार्थी अध्ययनरत् विद्यालयमा प्रतिष्ठानले वार्षिक ५० जनालाई छात्रवृत्ति प्रदान गर्दै आएको विद्यालयले जनाएको छ । दुर्घटनापछि गाउँको मुहार नै फेरिएको स्थानीय प्रेमबहादुर गोलेले बताउनुभयो । ‘घटना हुनु दुःखको कुरा हो, नहुनु भयो । तर, त्यसले हाम्रो गाउँमा विकास आयो, यो राम्रो पक्ष हो,’ उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्