हेटौँडामा गाईजात्रा विशेष कार्यक्रम



वाग्मती ।

वाग्मती प्रदेशको राजधानी हेटौँडामा आज ब्लु डायमण्ड सोसाइटीको आयोजनामा गाईजात्रा विशेष कार्यक्रम गरिएको छ ।सोसाइटीले ‘राइट हियर राइट नाउँ’को सहयोगमा हेटौँडा उपमहानगरपालिका–११ शहीद स्मारक परिसरमा गाईजात्रा कार्यक्रम गरेको हो ।

संस्थाले विगत १८ वर्षदेखि काठमाडौँ उपत्यकामा गाईजात्रा कार्यक्रम आयोजना गर्दै आएको थियो । यस वर्ष भने कोरोनाको जोखिमका कारण हरेक जिल्लाजिल्लामा कार्यक्रमको आयोजना गरिएको ‘राइट हियर राइट नाउ’ का कार्यक्रम संयोजक अनुज पिटर राईले जानकारी दिनुभयो ।

गाईजात्राले स्वतन्त्रताको समेत वकालत गर्ने भएकाले लैङ्गीक तथा अल्पसङ्ख्यकको पहिचानका लागि पनि यो पर्व उचित भएको राईले बताउनुभयो । इतिहासमा पनि गाईजात्राका समयमा केटा मान्छेसमेत केटी भएर हिँड्ने चलन भएको भन्दै उहाँले आफूहरुको पहिचानसँग यो पर्व जोडिएको विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा लैङ्गीक तथा अल्पसङ्ख्यक समुदायका २५ जना सहभागीले स्वास्थ्य मापदण्ड पालना गरी प्लेकार्डसहित गाईजात्रा कार्यक्रम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्