नगर जनस्वास्थ्य विधेयक माथि दफाबार छलफल



अमृत अर्याल, स्याङ्जा ।

जिल्लाको वालिङ नगरपालिकामा जनस्वास्थ्य सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि दफाबार छलफल भएको छ । पब्लिक पोलिसी पाठशालाको सहजीकरणमा तयार पारिएको विधेयक माथि दफाबार छलफल गरी अन्तिम रुप दिने तयारी गरिएको नगर प्रमुख दिलीप प्रताप खाँणले बताउनुभयो ।

पहिलो चरणमा छलफल गरिएको र थपघट गर्नुपर्ने बुँदाहरुलाई संशोधन र परिमार्जन सहित कार्यपालिका बैठकबाट पारित गरी नगरसभा मार्फत ऐनको रुपमा अगाडि बढाईने नगर प्रमुख खाँणले बताउनुभयो । जनस्वास्थ्यसँग सम्बन्धित सम्पूर्ण पक्ष र विषयलाई विस्तृत रुपमा समेटिएको नगर प्रमुख खाँणले बताउनुभयो ।

नगर प्रमुख सहित विधायन समिति, सामाजिक विकास समिति तथा सरोकारवाला पक्षहरुको उपस्थितिमा विधेयक माथि दफाबार छलफल गरी अन्तिम रुप दिनका लागि सहजीकरणको भूमिकामा रहेको पब्लिक पोलिसी पाठशालालाई सुझाव दिईएको प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले बताउनुभयो ।

विधेयकलाई आगामी पुसमा हुने नगरसभा मार्फत पारित गरेपछि राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा आउने प्रमुख प्रशासकीय अधिकृत भट्टराईले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्