काठमाडौँ।
नेपाली कांग्रेसले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाको छानबिनका लागि संसदीय विशेष समिति गठन गर्न माग गरेको छ ।
आज बिहान सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले घटनाको स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न सरकारसँग आग्रह गरेको हो ।
कांग्रेसले स्पष्ट कानुनी आधार र अदालतको अनुमति बिना समाचार कक्षमा प्रहरी परिचालन गर्नु प्रेस स्वतन्त्रता तथा विधिको शासनको मर्मविपरीत भएको निष्कर्ष निकालेको छ । सरकारका गतिविधिले प्रेस स्वतन्त्रता, न्यायपालिकाको स्वायत्तता र संवैधानिक व्यवस्थामाथि गम्भीर प्रश्न खडा गरेको भन्दै कांग्रेसले आपत्ति जनाएको छ ।
यसैगरी, कांग्रेसले प्रतिनिधिसभाको बैठक तत्काल बोलाउन पनि माग गरेको छ ।
यसबीच कांग्रेसले आजै प्रतिपक्षी दलहरूको बैठकसमेत आह्वान गरेको छ । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको आह्वानमा दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्न लागेको हो ।
बैठकमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आमन्त्रण गरिएको छ ।











प्रतिक्रिया