काठमाडौँ ।
अमेरिकाको फ्लोरिडामा आइतबार एउटा निजी जेट विमान दुर्घटनाग्रस्त हुँदा विमानमा सवार सबै नौ जनाको मृत्यु भएको छ। अमेरिकी यातायातमन्त्रीले दुर्घटनामा नौ जनाको ज्यान गएको पुष्टि गरेका हुन्।
स्थानीय समयअनुसार दिउँसो १२ः५० बजे पाम बीच काउन्टीको क्रेस्टहेभननजिकै दुर्घटना भएको हो। दुर्घटनास्थल अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको रिसोर्ट मार–ए–लागोबाट करिब १४ किलोमिटर टाढा रहेको बताइएको छ।
दुर्घटनापछि सार्वजनिक भएका तस्बिरहरूमा आवासीय क्षेत्रको सडकमा ठूलो खाडल परेको, आगोका लप्का उठिरहेको तथा विमानका भग्नावशेष छरिएको देखिन्छ। दुर्घटनाग्रस्त विमान लिअरजेट ६० रहेको बताइएको छ।
अमेरिकी सङ्घीय उड्डयन प्रशासन (एफएए) का अनुसार उक्त विमान टेक्ससको अस्टिनबाट बहामसका लागि उडेको थियो। उडानसम्बन्धी विवरण र अमेरिकी सञ्चारमाध्यमका रिपोर्टअनुसार विमान जमिनमा खस्नुअघि तीव्र गतिमा तल झरेको थियो।
दुर्घटनाअघि विमानचालकले आपत्कालीन अवस्था घोषणा गरेका थिए
अमेरिकी सञ्चारमाध्यम सीबीएस न्यूजका अनुसार दुर्घटनाअघि विमानचालक र एअर ट्राफिक कन्ट्रोलबीच भएको संवादको अडिओमा विमान असामान्य गतिमा तल झरिरहेको उल्लेख गरिएको छ।
अडिओमा विमानचालकले प्रतिमिनेट १० हजारदेखि २० हजार फिटसम्म तल झरिरहेको जानकारी दिएको र त्यसपछि आपत्कालीन अवस्था घोषणा गरेको सुनिएको समाचारमा उल्लेख छ।
विमानचालकले ‘हाम्रो दुर्घटना हुँदै छ, हामीसँग जोगिन समय छैन’ भन्दै नियन्त्रण टावरलाई जानकारी गराएको सीबीएस न्यूजले जनाएको छ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा ड्यासक्यामजस्तो देखिने भिडियोमा विमान आवासीय क्षेत्रको सडकमा तीव्र गतिमा खस्दै गरेको र त्यसलगत्तै ठूलो आगलागी भएको दृश्य देखिन्छ। यद्यपि उक्त भिडियोको आधिकारिकता पुष्टि भइसकेको छैन।
फ्लोरिडाका गभर्नर रोन डिसान्टिसले दुर्घटनाको दृश्य निकै भयावह रहेको बताएका छन्। उनले विमान आकाशबाट क्षेप्यास्त्र खसेझैँ जमिनमा बजारिएको र त्यसपछि ठूलो विस्फोटसँगै भग्नावशेष चारैतिर छरिएको बताएका छन्।
६०० स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारियो
दुर्घटनापछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै आसपासको बस्तीका करिब ६०० स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले बताएका छन्।
पाम बीच काउन्टी फायर रेस्क्यूले घटनालाई सामूहिक हताहतीको घटनाका रूपमा वर्गीकरण गरेको थियो। दुर्घटना मिलिटरी ट्रेल नामक छ लेनको सडकमा भएको हो, जहाँ विभिन्न व्यापारिक प्रतिष्ठान तथा खानपिनका स्थानहरू रहेका छन्।
गभर्नर डिसान्टिस र स्थानीय अधिकारीहरूका अनुसार दुर्घटनाका कारण खानेपानी आपूर्ति गर्ने पाइपलाइनसहित विभिन्न पूर्वाधारमा क्षति पुगेको छ। क्षतिग्रस्त सडक पुनः सञ्चालनमा आउन कम्तीमा ३० दिन लाग्न सक्ने अनुमान गरिएको छ।
दुर्घटनास्थलमा त्यस समयमा आँधीबेहरीको चेतावनी जारी गरिएको थियो। पत्रकार सम्मेलन भइरहँदासमेत त्यस क्षेत्रमा मुसलधारे वर्षा भइरहेको थियो।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प दुर्घटना हुनुभन्दा करिब एक घण्टाअघि नजिकैको विमानस्थलबाट एयर फोर्स वन चढेर अन्यत्र गइसकेका थिए। उनी आइतबार बिहानसम्म आफ्नो मार–ए–लागो रिसोर्टमा रहेको बताइएको छ।
दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन अमेरिकी सङ्घीय उड्डयन प्रशासन र राष्ट्रिय यातायात सुरक्षा बोर्ड (एनटीएसबी) ले अनुसन्धान प्रक्रिया अघि बढाउने जनाइएको छ। -बीबीसी











प्रतिक्रिया