कांग्रेसविरुद्धका आरोप निराधार भएको गगन थापा सचिवालयको दाबी, सरकारमाथि विषयान्तर गरेको आरोप


काठमाडौँ ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको सचिवालयले पार्टी र नेतृत्वविरुद्ध केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका आरोपप्रति आपत्ति जनाउँदै ती आरोप निराधार र भ्रम फैलाउने उद्देश्यबाट प्रेरित रहेको दाबी गरेको छ।

सचिवालयले विज्ञप्ति जारी गर्दै सरकारका पछिल्ला गतिविधि तथा घटनाक्रमबाट जनताको ध्यान अन्यत्र मोड्न प्रतिपक्षी दललाई लक्षित गरी भ्रामक प्रचार गरिएको आरोप लगाएको हो।

विज्ञप्तिमा कांग्रेसले पार्टी विधान र प्रचलित कानुनी व्यवस्थाअनुसार विशेष महाधिवेशन सम्पन्न गरेको तथा त्यसबाट नेतृत्व र निर्णयको आधिकारिकतासम्बन्धी विषय निर्वाचन आयोग र अदालतका निर्णयबाट पुष्टि भएको उल्लेख गरिएको छ। साथै, संविधान, प्रचलित कानुन, पार्टी विधान र सर्वोच्च अदालतको आदेशअनुसार हालै सम्पन्न १५औँ महाधिवेशनले पार्टीको संस्थागत प्रक्रियालाई थप मजबुत बनाएको सचिवालयको दाबी छ।

कांग्रेसले लोकतन्त्र, नागरिक स्वतन्त्रता, जनअधिकार र विधिको शासनका पक्षमा निरन्तर आवाज उठाउँदै आएको जनाउँदै सरकारका गतिविधि लोकतान्त्रिक मूल्य र मान्यताविपरीत भए त्यसको सशक्त प्रतिवाद गर्ने जनाएको छ।

यसैगरी, बिचौलियासँग सम्बन्धित विषयलगायत सबै प्रकरणको गहिरो, निष्पक्ष र प्रमाणमा आधारित अनुसन्धान हुनुपर्ने पार्टीको धारणा रहेको विज्ञप्तिमा उल्लेख छ। अनुसन्धानबाट दोषी ठहरिने जोकोहीलाई कानुनी दायरामा ल्याउनुपर्ने भन्दै यस प्रक्रियामा सरकारलाई पूर्ण साथ र समर्थन रहने पनि सचिवालयले स्पष्ट पारेको छ।

तर अनुसन्धानका क्रममा नेपाल प्रहरीको छापसहितका कागजात, तथ्य तथा कथित बयानहरू छानीछानी सार्वजनिक भइरहेको भन्दै कांग्रेसले आपत्ति जनाएको छ। यसले अनुसन्धानको निष्पक्षतामाथि प्रश्न उठाउनुका साथै प्रमाण लुकाउने वा नष्ट गर्ने र अनुसन्धान प्रक्रियालाई प्रभावित पार्ने प्रयास भइरहेको हो कि भन्ने आशङ्का जन्माएको विज्ञप्तिमा उल्लेख छ।

अनुसन्धान चयनात्मक ढंगले अघि बढेको हो कि भन्ने प्रश्नसमेत उठाउँदै सचिवालयले अनुसन्धानमा संलग्न निकायभित्रका व्यक्तिहरूको भूमिकाबारे पनि सार्वजनिक रूपमा प्रश्न उठिरहेको जनाएको छ। त्यसैले समग्र अनुसन्धान प्रक्रिया पारदर्शी, निष्पक्ष र प्रमाणमा आधारित हुनुपर्नेमा कांग्रेसले जोड दिएको छ।

कांग्रेसले निष्पक्ष अनुसन्धानबाट आफूहरू पछि नहट्ने स्पष्ट पार्दै अपुष्ट आरोप, राजनीतिक पूर्वाग्रह र भ्रामक प्रचारका आधारमा कसैलाई दोषी ठहर गर्ने प्रवृत्ति स्वीकार्य नहुने जनाएको छ। अनुसन्धानलाई निष्पक्ष बनाउन पार्टीको संसदीय दलले समेत निर्णय गरिसकेको विज्ञप्तिमा उल्लेख छ।

अन्त्यमा सचिवालयले सम्बन्धित सबै पक्षलाई तथ्य र प्रमाणका आधारमा जिम्मेवार ढंगले विषय प्रस्तुत गर्न आग्रह गरेको छ। साथै, आमनागरिकलाई पनि अपुष्ट सूचनाका आधारमा भ्रममा नपर्न अनुरोध गरेको छ।