नक्कली नेपाली नागरिकता लिएर करोडौँ ठगी गर्ने भारतीय नागरिक पक्राउ



न्युज अफ नेपाल, काठमाडौं ।

भारतको हिमान्चल प्रदेशमा जन्मिएर नेपालमा लामो समयदेखि बस्दै आएका रबीकुमार सिंहले नक्कली नेपाली नागरिकता लिएर करोडौ ठगी गरेर भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । सुर्खेतको लाटीकोइली गाउंपालिकाबाट नोपली नागरिकता लिएका सिंहले बिभिन्न बहाना बनाएर ठगी गर्दै आएको प्रहरीको अनुसन्धानले देखाएको छ ।

सिंहले नारायणगढ बुटवल खण्डको बाटो बिस्तारकालागि सडकका दाया बायांका रुख कटानको जिम्मेवारी आफुले पाएको भन्दै बुटवलका हरी मल्ल र महेन्द्र कुमार श्रेष्ठलाई उक्त काममा लगानी गर्न र नाफाको ४० प्रतिशत रकम दिने भन्दै ४३ लाख ७३ हजार रुपिया ठगी गरेका थिए ।

सिंहले नारायणगढ बुटवल खण्डको सडक निर्माण गर्दै आएको चाइना स्टेट कन्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनको कागजात देखाएर आफु र अन्जली कन्ट्रक्सनबीच संझौता भएको कागज देखाएर ठगी गरेको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ ।

सिंहले आफ्नो ठगीको सिलसिलालाई जारी राख्ने क्रममा अन्जली कन्ट्रक्सनको म्यानेजिङ डाइरेक्टर भएको भन्दै बुटवलका कृष्णबहादुर गुरुङको बा. १२ ३८५९ नम्वरको मारुती स्वीफ्ट गाडी महिनाको ९० हजार भाडा दिने भन्दै २०७६ साल बैशाखमा गाडी लिएर फरार भएका थिए । रानाको गाडी लिएर काठमाडौ आएका सिंहले उक्त गाडी भक्तपुरका प्रदिप रायलाई नक्कली ब्लुबुक बनाएर ८ लाख ३५ हजार लिएर फरार भएका थिए । रायले पछि गाडी आफ्नो नाममा नामसारी गर्न जांदा ब्लुबुक नक्कली भएको र सिंहले आफुलाई ठगी गरेको पत्ता लगाएका थिए ।

सिंहले चुरियामाई इन्टरप्राइजेजका संचालक कृष्णहरी गौतमसँग रहेको बजाज कम्पनीको बाइक खरिद गर्ने भन्दै ३० हजार दिएर ३ लाख ठगी गरेर फरार भएका थिए । बिभिन्न ठाउँमा ठगी गर्दै आएका सिंहले जनकपुरमा रहेको साह एण्ड इन्टरप्राइजेजका संचालक प्रदिपकुमार साहलाई रोयल हाइड्रो कम्पनीको म्यानेजिङ डाइरेक्टर भएको भन्दै सुजुकी कम्पनीको ब्रेजा गाडी भाडामा लिने भन्दै ठगी गरेर फरार भएका थिए ।

महिनाको १ लाख ५० हजार भाडा दिने भन्दै गाडी लिएर हिडेका सिंहलाई प्रहरीले उक्त गाडी सहित पक्राउ गरेको महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक चन्द्रकुवेर खापुङले जानकारी दिनुभयो । सिंहले आफ्नो ठगी धन्दालाई अघी बढाउने क्रममा लाजिम्पाटमा रहेको रोयल हाइड्रो कम्पनीको नक्कली लेटर प्याड बनाएर १ करोड भन्दा बढी ढगी गरेको पाइएको उहांले जानकारी दिनुभयो ।

सो कम्पनीका अध्यक्ष सुरेन्द्र बहादुर शाहीले र प्रवन्ध निर्देशक प्रेमबहादुर शाहीले आफ्नो कम्पनीको नाममा ठगी गरेकाले सिंहलाई कारवाही गर्न प्रहरीमा उजुरी दिएपछि सिंहले गर्दै आएको कीर्ते धन्दाको पर्दाफास हुदै आएको प्रहरीले जानकारी दिएको छ । नेपालमा नक्कली नागरिकता बनाएर ठगी गर्दै आएका सिंहले बैक खाता समेत खोलेर ठगी गरेको रकम जम्मा गर्दै आएका थिए । सिंहले अन्य ब्यक्तिहरुलाई ठगी गरेको हुनसक्ने भएकाले प्रहरीलाई खवर गर्न पनि आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्