कक्षा १२ को परीक्षा रोकिँदा एक शैक्षिक सत्र खेर जाने निश्चित : प्याब्सन



न्युज अफ नेपाल, काठमाडौं ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सनले कोरोना संक्रमण कम हुँदै गएको क्षेत्रहरुमा भौतिकरुपमा विद्यालय खोल्ने निर्णय गर्न वातारण मिलाउन सरकारलाई आग्रह गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै महामारीका कारण बन्द भएका अनेक क्षेत्र सुचारु गरिएपनि शैक्षिक क्षेत्रमा सरकारले ध्यान नदिएको उल्लेख छ ।

यस्तै प्याब्सनले विश्वविद्यालयका शिक्षक र विद्यार्थीका लागि कोरोना विरुद्धको खोपको व्यवस्था भएको तर कक्षा १२ को परीक्षा स्थगन गर्ने निर्णय गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ , ‘कोरोना महामारीको कारण बन्द भएकोे बजार–व्यवसाय, उद्योग–कलकारखाना, सार्वजनिक यातायात पूर्ण रुपमा खुलेको, त्रि.वि. लगायतका विश्वविद्यालयहरुको परीक्षा कार्यक्रम यथावत रहेको, लोकसेवा आयोगले लिने परीक्षाहरु सुचारु रहेको, विश्वविद्यालयका शिक्षक तथा विद्यार्थीहरुका लागि खोपको समेत व्यवस्थापन भएको सन्दर्भमा कक्षा–१२ को अन्तिम परीक्षा (एस.एल.सी) सरकारद्वारा स्थगन गरिएको कुरा प्रति हाम्रो ध्यानाकर्षण रहेको छ ।’

यस्तै प्याबस्नले परीक्षा रोकिँदा लाखौं विद्यार्थीहरुको एक शैक्षिक सत्र खेर जाने निश्चित रहेको भन्दै चिन्ता व्यक्त गरेको छ ।

हेर्नुहोस् विज्ञप्ति

 

 

प्रतिक्रिया दिनुहोस्