तेक्वान्दो अध्यक्षमा पुनः बज्राचार्य



हेटौंडा, (नेस) ।

मकवानपुर जिल्ला तेक्वान्दो कार्यसमितिको अध्यक्षमा पुनः लालकाजी रत्न बज्राचार्य सर्वसम्मत् चयन भएका छन् । पुनर्गठन कार्यक्रमले बज्राचार्यलाई ४ वर्ष कार्यकालका लागि चयन गरेको हो ।

हेटौंडा उपमहानगर मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमले कमिटी प्रथम उपाध्यक्षमा निरुकुमारी मगर, द्वितीय उपाध्यक्ष ओमकुमार लामा, सचिव विक्रम लामिछाने, सहसचिव सुरेश ढुंगाना, कोषाध्यक्ष रवीन्द्र डंगोललगायत १८ सदस्यीय कमिटी चयन गरेको छ ।

बज्राचार्यले सबैको सरसल्लाह लिएर तेक्वान्दोको विकासमा लाग्ने बताए । बज्राचार्यले अग्रजको सुझाव र सल्लाहअनुसार अगाडि बढ्ने बताउँदै कार्यसमितिलाई देशकै नमूना संघका रूपमा स्थापित गर्न प्रयत्न गर्ने प्रतिबद्धता जनाए । उनले इतिहासमा नभएको काम दुई वर्षमा गरिएको भन्दै भवन निमार्णाधीन चरण रहेको भन्दै आफ्नो कार्यकालमा भवन सम्पन्न गरी खेलाडीको सपना पूरा गरिने बताए ।

बज्राचार्यले कोरोनाको कहरको बेला सोचेजस्तो प्रतियोगिताहरू सञ्चालन गर्न नसकिएको भन्दै अब स्वास्थ्य सावधानी अपनाएर प्रतियोगिताहरू सञ्चालन गरिने बताए । २०७६ सालमा अध्यक्षको जिम्मेवारी सम्हालेका उनको यो दोस्रो कार्यकाल हो । १२ वर्ष उमेरदेखि खेलमा लागेका बज्राचार्यले जिल्ला, अञ्चल, राष्ट्रिय प्रतियोगितामा बेस्ट प्लेयर हुँदै लन्डनमा भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा गोल्ड मेडल प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्