शिलान्यास भएको ६ महिनामा टेन्डरसम्म भएन



नेपाल समाचारपत्र, बाँके ।

बाँकेको नौबस्तामा औद्योगिक क्षेत्र निर्माणका लागि तामझामका साथ शिलान्यास भएको ६ महिना बितीसक्दा पनि संरचनाहरू निर्माणका लागि टेन्डरसम्म हुन सकेको छैन ।

देशमा औद्योगीकरण बिस्तार गर्ने उद्घोष गर्दै २०७७ फागनु ११ गते तत्कालनि उद्योग मन्त्री लेखराज भट्टले नौबस्ता औद्योगिक क्षेत्रको निर्माणको शिलान्यास गर्नु भएको थियो ।

शिलान्यास भएको ६ महिना बितीसके पनि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले संरचनाहरू निर्माणका लागि टेन्डरसम्म गर्न सकेको छैन । औद्योगिक क्षेत्र निर्माण गरिने क्षेत्रमा वर्षौंदेखि बसोबास गर्दै आएका सुकुम्बासीको पनि हालसम्म व्यवस्थापन हुन सकेको छैन ।
औद्योगिक क्षेत्र निर्माण गरिने भनेर छुट्याइएको करिब ७० विगाह क्षेत्रमा २ सय ५९ परिवार सुकुम्बासी बस्दै आएका छन् । सुकुम्बासीले आफूहरूको बसोबासको वैकल्पिक व्यवस्था नहुँदासम्म औद्योगिक क्षेत्र निर्माण गर्न नदिने चेतावनी दिँदै आएका छन् । सुकुम्बासीले आफूहरूको वैकल्पिक व्यवस्था नगरी औद्योगिक क्षेत्रको शिलान्यास गरिएको भन्दै नाराबाजी र प्रर्दशन गरेका थिए ।

औद्योगिक क्षेत्रको शिलान्यास गर्दै तत्कालीन उद्योग मन्त्री भट्टले सुकुम्बासीको समस्या हल गरेरै औद्योगिक क्षेत्रको निर्माण कार्यलाई अगाडि बढाउने प्रतिबद्धता जनाएको ६ महिना बिते पनि सुकुम्बासीको समस्या समाधान गर्ने र औद्योगिक क्षेत्र निर्माणतर्फ कुनै प्रगति भएको छैन ।

नौबस्ता औद्योगिक क्षेत्रका व्यवस्थापन कार्यालयका प्रमुख कृष्णबहादुर पुनले संरचना निर्माणका लागि ७८ करोड बजेट छुट्याइएका कारण छिट्टै टेन्डर निकालेर काम शुरू गर्ने तयारी भइरहेको बताउनुभएको छ ।

नेपालगञ्ज क्षेत्रमा नयाँ उद्योग खोल्न चाहने उद्योगी व्यवसायीको आकर्षण बढ्दो छ । तर, सरकारले सडक, ढल र विद्युत्, खानेपानी सुरक्षा लगायतका भौतिक संरचनाहरूको सुविधा भएको औद्योगिक क्षेत्र निर्माण नगरीदिएका कारण उद्योगी व्यवसायीहरू हात खुम्चाएर बस्न बाध्य छन् । नौबस्तामा औद्योगिक क्षेत्र खोल्ने भनेपछि २ सय ५० जना उद्योगीले उद्योग खोल्नका लागि निवेदन दिइसकेका छन् ।

आगामी ५ वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको औद्योगिक क्षेत्रको निर्माण कार्य सम्पन्न गर्नका लागि करिब ९ अर्ब लाग्ने अनुमान गरिएको छ । औद्योगिक क्षेत्रको निर्माण सम्पन्न भएपछि करिब १० हजारले प्रत्यक्षरूपमा रोजगारी पाउने अनुमान गरिएको छ ।
५ सय २५ विगाहको औद्योगिक क्षेत्र बनाउने घोषणा भएको नौबस्तामा सरकारले ३ सय ३८ बिगाहाको लालपूर्जा तयार गरेको छ । यहींभित्र २ सय ५९ घरपरिवार सुकुम्बासीले ७० बिघा जमिन ओगटेका छन् । दश बिघामा कारागार र दश बिघा सशस्त्र प्रहरीले भोगचलान गरेको छ । सुकुम्बासी, सशस्त्र प्रहरी र कारागारले ओगेटेको क्षेत्र छोडेर २ सय ३८ बिघामा औद्योगिक क्षेत्रको काम शुरू गर्ने तयारी भएको पुनले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्