अफगानिस्तानबाट नेपाली फर्काउने क्रम जारी



काठमाडौं, (नेस) ।

संकटग्रस्त अफगानिस्तानबाट बुधबार साँझसम्ममा २ सय ८८ जना नेपाली उद्धार भई काठमाडौं आइपुगेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार बुधबार बिहान ६१ र अपराह्न २५ गरी ८६ जना र यसअघि मंगलबार बिहान १ सय १८ र राति ८४ गरी २ सय ८८ नेपाली काठमाडौं आइपुगेका हुन् ।

अफगानिस्तानबाट उद्धार भई काठमाडौं आइपुगेका नेपालीलाई सीसीएमसीको समन्वयमा सामाखुसीस्थित सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा स्वास्थ्य मापदण्डअनुसार कोभिड–१९ को परीक्षण गरी आवश्यक व्यवस्थापन गरिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

बुधबार साँझसम्ममा २ सय ९६ नेपालीले कन्सुलर सेवा विभागको वेब पोर्टलमा आफ्नो विवरण दर्ता गराइसकेका छन् भने तीमध्ये १६ जना भने काठमाडौं आइपुगिसकेको मन्त्रालयले जनाएको छ । त्यस्तै शिष्टाचार महाशाखाको सिचुयसन रुममार्फत १४ जना नेपालीले आफ्नो नामसहितको विवरण दर्ता गरेको पनि विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्