अफगानिस्तानमा रहेका वालिङका नागरिकलाई सुरक्षित घर फर्काउन पहल



अमृत अर्याल, स्याङ्जा ।

अफगानिस्तानमा रहेका वालिङका नागरिकलाई सुरक्षित रुपमा घर फर्काउनका लागि वालिङ नगरपालिकाले पहल थालेको छ । वालिङका नागरिक रोजगारी वा अन्य कुनै कामको शिलशिलामा अफगानिस्तान पुग्नुभएको भए नगरपालिका कार्यालयमा सूचना गरी सहयोग गरिदिनुहुन नगरपालिकाले अनुरोध गरेको छ ।

नगर प्रमुख दिलीपप्रताप खाँणद्वारा आज जारी गरिएको प्रेस विज्ञप्ति अनुसार वालिङका केही नागरिकहरु सुरक्षित रुपमा घर फर्किसक्नुभएको छ भने केही नागरिकहरु विभिन्न संस्थाको सहयोगमा सुरक्षित रुपमा रहनुभएको जनाईएको छ । घर फर्कन चाहेर पनि अलपत्र परेको कोही वालिङका नागरिक अफगानिस्तानमा भएको भए नगरपालिका कार्यालयमा खबर गरिदिनुहुन अनुरोध गर्नुहुँदै नगर प्रमुख खाँणले त्यहाँस्थित राजदूताबास तथा अन्य संघ संस्थाहरुलाई उद्दारका लागि आवश्यक पत्राचार गर्ने बताउनुभयो ।

“वालिङ नगरपालिकाका कति जना नागरिकहरु अफगानिस्तानमा हुनुहुन्छ भन्ने यकिन छैन” प्रमुख खाँणले भन्नुभयो, “यकिन भयो भने उद्दार कार्यका लागि सहजता हुने भएकाले सम्बन्धितहरुलाई सूचनाका लागि अनुरोध गरिएको हो, सूचना आउने क्रम जारी रहेको छ ।” वालिङ नगरपालिकाका हालसम्म तीन जना सम्पर्कमा आउनु भएकामध्ये एकजना सुरक्षित रुपमा नेपाल आईसक्नुभएको छ भने अन्य दुई जना युएनडिपी र युनिसेफको कार्यालयमा सुरक्षित रहनुभएको नगर प्रमुख खाँणले बताउनुभयो ।

अफगानिस्तानमा नेपालीहरु धेरै संख्यामा कार्यरत छन् । त्यहाँको सुरक्षा संवेदनशीलताका कारण नेपाली कामदारहरुलाई स्वदेश फर्काउनुपर्ने आवाज सबैतिरबाट उठिरहेको छ । तर सरकारले भने ठोस कदम चाल्न सकेको छैन । अफगानिस्तामा द्वन्द्व चर्किएसँगै विभिन्न मुलुकले आफ्ना नागरिकलाई घर फर्काइरहेका छन् ।

अहिले जापान, भारत र बेलायत, अमेरिका लगायतका देशले आफ्ना नागरिकलाई राजधानी काबुलबाट फिर्ता लगिरहेका छन् । तर, नेपाल सरकारले ठोस पहल नगर्दा त्यहाँ बाँकी रहेका नेपालीको सुरक्षा चिन्ता उत्पन्न भएको छ । यता प्रमुख विपक्षी दल नेकपा एमालेले अफगानिस्तानमा रहेका नेपाली नागरिक स्वदेश फर्काउन पहल नगरेको भन्दै सरकारको आलोचना गरेको छ ।

धेरै मुलुकहरुले आफ्ना देशका नागरिक धमाधम फिर्ता लगिरहेका छन् । अफगानिस्तानमा रहेका बेलायत, अमेरिकासहित राष्ट्रसंघीय निकायको आग्रहमा सुरक्षा–कामदार पठाउने गरिएको छ । विदेशका जुकसुकै कुनामा रहेका नेपालीहरुलाई आफ्नो घर फर्कन पाउने अधिकार छ । तसर्थ संख्या तोक्ने होईन, आउन चाहने हरेक नेपालीलाई फिर्ता ल्याउने कार्ययोजना सरकारले बनाउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्