सभ्य आचरण प्रदर्शन गर्न ट्राफिक प्रहरीलाई निर्देशन



काठमाडौं ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले शिष्ट, सभ्य र व्यावसायिक आचरण प्रदर्शन गर्न ट्राफिक व्यवस्थापनमा खटिने प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखा तथा मातहत कार्यालयका प्रमुख, सातै प्रदेश ट्राफिक प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुखलाई प्रहरी प्रधान कार्यालयबाट आज भर्चुअल माध्याममार्फत निर्देशन दिँदै प्रहरी महानिरीक्षक थापाले ट्राफिक व्यवस्थापन तथा सडक दुर्घटना न्यूनीकरणमा गम्भीरतापूर्वक कर्तव्य निर्वाह गर्न आग्रह गर्नुभयो ।

प्रविधिको प्रयोगमा जोड दिन आग्रह गर्दै प्रहरी महानिरीक्षक थापाले पूर्ण पेशागत निष्ठाका साथ ट्राफिक व्यवस्थापनमा लाग्न पनि निर्देशन दिनुभयो । उहाँले सडक सुरक्षा, सडकमा हुने दुर्घटना न्यूनीकरणमा मौलिक योजना तथा रणनीति तयार गरी अगाडि बढ्न आग्रह गर्नुभयो ।कार्यक्षेत्रमा खटिने सिलसिलामा व्यक्तिगत सुरक्षाप्रति सचेत हुँदै कार्यालय तथा सडकमा सम्पर्कमा आउने सेवाग्राहीलाई सेवा प्रवाहमा समानता र सेवाग्राही मैत्री व्यवहार कायम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आर्थिक पारदर्शीता तथा शून्य सहनशीलता नीतिअनुरुप कार्य सम्पादन गर्न पनि सुझाव दिनुभएको छ ।

प्रहरी महानिरीक्षक थापाले परिस्थितिको मूल्याङ्कन गरी स्वविवेकको प्रयोगमा चुक्न नहुनेमा जोड दिँदै कोभिड–१९ को जोखिममा पूर्ण सावधानी अपनाउन भन्नुभएको छ । उहाँले स्थानीयस्तरसँग समन्वय गरी ट्राफिक व्यवस्थापनलाई चुस्त पार्नु आजको आवश्यकता भएको औँल्याउनुभयो । प्रहरीको भौतिक संरचना, सिसिटिभी जडान जस्ता कार्यक्रममा स्थानीय तह, जनप्रतिनिधि तथा सङ्घ संस्थासँग समन्वय गरी दुर्घटना न्यूनीकरण प्रभावकारी बनाउन पनि निर्देशन दिनुभयो । उहाँले प्राप्त जिम्मेवारीलाई परिणाममुखी बनाउन पनि निर्देशन दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्