अफगानिस्तानबाट केही नेपाली आज आउँदै



सरस्वती कर्माचार्य, काठमाडौं  । 

तनावग्रस्त अफगानिस्तानबाट मंगलबार १ सय १८ जना नेपाली काठमाडौं आइपुगेका छन् भने बुधबार पनि केही नेपाली आउँदै छन् ।
काबुलको होटेल रोयल पार्क टावरमा सुरक्षागार्डका रूपमा कार्यरत कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर–४ का दुर्गाबहादुर नेपाली, वीरेन्द्रनगर–१० का प्रेमबहादुर नेपालीसँगै अर्का एक जना सुर्खेत, लेकवेंशी–४ का प्रेम मच्छेल पनि मंगलबार दोहा पुगिसक्नुभएको छ । उहाँहरूसँग अन्य कति जना नेपाली छन् भन्ने खुल्न सकेको छैन ।

तर, नेपाल समाचारपत्रको सम्पर्कमा रहेका ती तीन जना भने बुधबार काठमाडौं आइपुग्ने बताइएको छ । परराष्ट्र मन्त्रालयले पनि बुधबार केही नेपाली स्वदेश फकाईने तयारी रहेको जनाएको छ । यद्यपि ती नेपालीको संख्या भने खुल्न सकेको छैन ।यसअघि मंगलबार बिहान अफगानिस्तानको काबुलस्थित अमेरिकी दूतावासमा सुरक्षागार्डका रूपमा कार्यरत १ सय १८ नेपाली दोहाबाट कुवेत हुँदै मंगलबार काठमाडौं आइपुगेका थिए । उनीहरूलाई अमेरिकी एयरफोर्सले उद्धार गरी सोमबार कतारको दोहा पु-याएको थियो । मंलगबार उनीहरूलाई जजिरा एयरलाइन्सको विमानबाट अमेरिकाले काठमाडौं ल्याइदिएको हो ।

अफगानिस्तानमा अझै पनि धेरै नेपाली उद्धारको पर्खाइमै छन् । परराष्ट्र मन्त्रालयका अनुसार मंगलबार साँझसम्म अफगानिस्तानमा रहेका २ सय ५६ जना नेपालीले कन्सुलर सेवा विभागले उपलब्ध गराएको अनलाइन पोर्टलमा आफ्नो विवरण दर्ता गरिसकेका छन् । मन्त्रालयले उद्धारका लागि कूटनीतिक पहल जारी राखेको जानकारी दिँदै अफगानिस्तानस्थित विदेशी कूटनीतिक नियोगमा कार्यरत केही नेपालीको उद्धार भई नेपाल ल्याउने प्रक्रियामा रहेको जनाएको छ ।

यसैबीच राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले जुनसुकै हैसियतमा अफगानिस्तानमा पुगेका भए पनि त्यहाँ जोखिममा रहेका सबै नेपालीको उद्धारका लागि कूटनीतिक पहल गर्न सरकारलाई निर्देशन दिनुभएको छ । आयोगमा परराष्ट्र मन्त्रालय र वैदेशिक रोजगार विभागका पदाधिकारीसँग अफगानिस्तानमा नेपालीको अवस्थाबारे छलफल गर्ने क्रममा अध्यक्ष मगरले त्यहाँ रहेका नेपालीको तत्काल उद्धार गर्न निर्देशन दिनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्