जसपामा ठाकुरलाई अन्तरिम आदेश दिन अस्वीकार



काठमाडौं, (नेस) ।

जनता समाजवादी पार्टी (जसपा) का नेता उपेन्द्र यादवले नेतृत्व गरेको समूहलाई निर्वाचन आयोगले पार्टीको आधिकारिकता दिन गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश दिन सोमबार अस्वीकार गरेको छ ।

न्यायाधीशहरु दीपककुमार कार्की र डा. आनन्दमोहन भट्टराईको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । आयोगले गत साउन ११ गते नेता यादवले नेतृत्व गरेको समूहलाई पार्टीको आधिकारिकता प्रदान गरेको थियो । जसपामा ठाकुर र यादवले नेतृत्व गरेको दुई समूह कायम रहेको थियो । ती दुई समूहबीच आधिकारिताको विवाद भएको थियो । सो विवाद आयोगसमक्ष पुगेको थियो ।

आयोगले गत साउन ११ गते केन्द्रीय कार्यकारिणी समितिका कति सदस्य कुन समूहमा छन् भनी सनाखतसमेत गरेको थियो । आयोगले गरेको सनाखतको आधारमा यादवको पक्षमा पार्टीको आधिकारिता प्रदान गरेको थियो । जसपाको नाम, झण्डा, विधानलगायतका विषय यादवले नेतृत्व गरेको समूहले पाउने गरी आयोगले निर्णय गरेको थियो ।

अर्का नेता ठाकुरले आयोगले संविधान तथा कानुनविपरीत यादवले नेतृत्व गरेको समूहलाई आधिकारिकता प्रदान गरेको जनाई सर्वोच्चमा रिट निवेदन दायर गर्नुभएको थियो । माग गरेबमोजिम अन्तरिम आदेश दिने वा नदिने भन्ने सम्बन्धमा सर्वोच्चमा सुनुवाइ भएको थियो ।

प्रतिक्रिया दिनुहोस्