पीएसजीद्वारा स्ट्रावर्ग पराजित



पेरिस, (एजेन्सी) ।

फ्रेन्च लिग वान फुटबलमा पीएसजीले सिजनको दोस्रो खेलमा स्ट्रावर्गलाई पराजित गरेको छ ।

शनिबार राति भएको खेलमा पीएसजीले स्ट्रावर्गलाई ४–२ गोल अन्तरले हराएको हो । आफ्नो घरेलु मैदानमा भएको खेलमा पीएसजीलाई जिताउन चार जना खेलाडीले गोल गरेका थिए । पाहुना टोली स्ट्राजवर्ग खेलको ८१औं मिनेटमा १० खेलाडीमा सीमित भएको थियो ।

खेलको तेस्रो मिनेटमै माउरो इकार्डीले गोल गरेर पीएसजीलाई अग्रता दिलाएका थिए । त्यसपछि, २५औं मिनेटमा क्लियन एमबाप्पेले गोल गरेर अग्रता दोब्बर बनाए भने त्यसको दुई मिनेटमै जुलियन ड्राग्सलरले गोल गरेपछि पीएसजीले पहिलो हाफमा ३–० को अग्रता बनायो ।

त्यसपछि, दोस्रो हाफमा स्ट्राजवर्गले खेलमा फर्किने संकेत देखाएको थियो । ५३औं मिनेटमा केभिन गेमेइरोले गोल गरेर खेल ३–१ बनाए । खेलको ६४औं मिनेटमा लुडोभिच अजोरक्वेले गोल गरेर अन्तर ३–२ मा छोट्याए । त्यसपछि ८१औं मिनेटमा स्ट्राजवर्गका डिफेन्डर एलेक्सान्डर जिकु दोहोरो पँहेलो कार्डका साथ रातो कार्ड खाँदै मैदान छाडेपछि पाहुना टोली दबाबमा परेको थियो ।

त्यसपछि, खेलको ८६औं मिनेटमा पीएसजीका लागि पाब्लो सराबियाले गोल गरेपछि खेल पीएसजीले ४–२ ले जित्यो । यस गोलमा क्लियन एमबाप्पेले असिस्ट प्रदान गरेका थिए । एमबाप्पेले १ गोल गर्दै १ गोलमा असिस्ट प्रदान गरे ।

मेसी दर्शकदीर्घामा

यस खेलमा गत मंगलबार मात्रै अनुबन्ध भएका नयाँ सुपरस्टार लिओनल मेसीले पनि खेल्ने बताइएको थियो । तर, उनी प्रारम्भिक टोलीमै थिएनन् । घरेलु मैदानमा पीएसजीले उत्कृष्ट जित निकाल्दा मेसीले दर्शकदीर्घामा बसेर खेल हेरेका थिए । मेसी र नेयमार दुवै पीएसजीको खेल हेर्न रंगशाला पुगेका थिए ।

खेलअघि पीएसजीले यस समरमा क्लबमा अनुबन्ध भएका नयाँ खेलाडीलाई दर्शकले भरिभराउ रंगशालामा सार्वजनिक गरेको थियो । मेसी, गोलकिपर जियानलुइजी डोनारुम्मा, डिफेन्डर सर्जियो रामोस र विंगर जर्जियो विज्नाल्डुमलाई दर्शकमाझ खेलअघि रंगशालामा सार्वजनिक गर्दा रंगशालामा खुसीयाली मनाइएको थियो । मेसी, नेयमार र रामोस दर्शक बनेको खेलमा अन्ततः पीएसजीले राम्रो नतिजा पनि निकाल्यो । अब यो जितपछि पीएसजी दुईवटै खेल जितेर ६ अंका साथ शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्