दिक्तेल रु.म.नगरपालिका क्षेत्र १० दिन बन्द, उपभोग्य बस्तुको जोहो गर्न अनुरोध



रामधन राई, खोटाङ ।

कोरोना सङ्क्रमण रोकथाम तथा न्युनिकरणका लागि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका क्षेत्र १० दिनको लागि पूर्ण रुपमा बन्द गरिने भएको छ । दैनिकजसो गरिएको परीक्षणका क्रममा सङ्क्रमण दर बढ्दै गएपछि भदौ १ गतेदेखि नगरपालिका कडाईका साथ बन्द गर्ने निर्णय भएको हो ।जिल्लाको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको दिक्तेलबजारमा सञ्चालित हाटबजार, होटल तथा पसल, सरकारी तथा गैंरसरकारी कार्यालय लगायतमा अनियन्त्रित भीडभाड बढेकाले बन्द गर्नु परेको जनाईएको छ ।

बन्दका क्रममा आवश्यक पर्ने खाद्यान्न, तरकारी, औषधि, ग्याँस लगायतका दैनिक उपभोग्यवस्तु तथा सामग्रीको त्यस अगावै व्यवस्था मिलाउन नगरबासीलाई आग्रह गरिएको नगरप्रमुख दीपनारायण रिजालले बताउनुभयो । जिल्लास्थित राजनीतिक दल, प्रशासन, सुरक्षा निकाय, पत्रकार, उद्योग व्यवसायी, यातायात व्यवसायी, होटल व्यवसायी, टोल सुधार समिति लगायतको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।नगरपालिकामा दोश्रो भेरियण्टपछि पहिचान भएकामध्ये हालसम्म २३ सय ६७ जना सङ्क्रमित निको भएका छन् भने ३ सय ३१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

जिल्लामा ११ जनाको सङ्क्रमणबाट मृत्यू भएको छ ।दोश्रो लहरपछि निशेधाज्ञा घोषणा नगरिएको जिल्लामा अधिकांश सर्बसाधारण स्वस्फूर्त रुपमा घरभित्रै बसेका थिए ।जिल्लाभर नै कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि पछिल्लो समय पुनः ‘तपाईको मास्क खोइ ?’ अभियान शुरु गरिएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्लाका दशवटै स्थानीय तहमा अभियान शुरु गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्