बाबु र काकाबाट बलात्कृत बालिका सुरक्षित घरमा



नेपाल समाचारपत्र, पर्वत ।

आफ्नै बाबु र काकाबाट यौन हिंसामा परेकी पर्वतको जलजला गाउँपालिकाकी १६ वर्षीया बालिकालाई पोखरास्थित सुरक्षित घरमा पठाइएको छ।

पर्वतको जलजला गाउँपालिका–७ धाइरिङमा आफ्नै ५० वर्षीय बाबु र ३० वर्षीय काकाबाट यौन हिंसामा परेकी बालिकालाई अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको पहलमा सुरक्षित घरमा पठाइएको हो।

जिल्ला प्रहरी कार्यालय पर्वतको अनुरोधमा बालिकालाई पोखरास्थित सुरक्षित घरमा पठाइएको इन्सेक प्रतिनिधि सन्तोष थापाले जानकारी दिनुभयो । बालिकाका संरक्षक बाबु नै आरोपित ठहरेर जिल्ला प्रहरी कार्यालय पर्वतको हिरासतमा रहेका र आमा मानसिक रुपमा अस्वस्थ रहेकाले बालिकालाई परिवारमा नै पुनःस्थापना गर्ने अवस्था नभएपछि सुरक्षित घरमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताउनुभयो ।

पीडित बालिकालाई आफ्नै बाबुले गत जेठ सात गते र काकाले गत साउन २३ गते जबरजस्ती करणी गरेको भनी पीडितको दाजुले जिल्ला प्रहरी कार्यालय पर्वतमा जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरी टोलीले दुवै आरोपितलाई निजकै घरबाट साउन २६ गते पक्राउ गरेको थियो।

प्रहरीले साउन २७ गते पर्वत जिल्ला अदालतबाट जबरजस्ती करणी कसुरमा दश दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्