‘नेपाल मास्क अभियान’ ले धरहराको गरिमा बढायो : मेयर शाक्य



न्युज अफ नेपाल, काठमाडौं।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ‘नेपाल मास्क अभियान’ ले धरहराको गरिमालाई थप बढाएको बताउनु भएको छ । आज वडा नम्बर–५ को हाँडीगाउँमा नरबुद्धपार्कको शिलान्यास कार्यक्रममा सम्वोधन गर्ने सिलसिलामा प्रमुख शाक्यले यस्तो बताउनु भएको हो ।

‘धरहराबाट सरकारले मास्क अभियान थालेको छ, यो सकारात्मक हो,’ शाक्यले भन्नुभयो, ‘धरहरा निर्माण भएपछि त्यसको गरिमा थप बढेको छ । धरहराको महत्व महानगरवासीले मात्रै होइन सिङ्गो देशवासी र विदेशीहरुले पनि थाहा पाए ।’ सरकारले ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूल नाराका साथ शनिबार साँझ धरहरामा ‘म जिम्मवार नागरिक’ ह्यासट्याग लेखेर अभियानको प्रचार सुरु गरेको थियो ।

उहाँले आफूले चुनावका बेला गरेका प्रतिवद्धता पूरा गर्दै आएको स्मरण गराउनुभयो । ‘धरहरा हाम्रै कार्यकालमा बनाउने भनेका थियौँ । धरहरा बनिसकेको छ, पार्किङलगायतको काम बाँकी छ । रानीपोखरी पुर्ननिर्माण गर्छौ भनेका थियौँ । त्यो बन्यो । ऐतिहासिक कमलपोखरी पनि पुर्ननिर्माण सम्पन्न हुने चरणमा छ ।’

कमलपोखरी पुननिर्माण सम्पन्न भएपछि रानीपोखरी भन्दा सुन्दर देखिने पनि उहाँले बताउनुभयो । ‘रानीपोखरी भन्दा कम हुनेछैन कमलपोखरी,’ उहाँले भन्नुभयो, ‘त्यहाँको प्रहरी कार्यालय मालिगाउँमा सारेपछि करीब पाँच रोपनी जग्गा थपिएको छ । थपिएको जग्गासहितको पहिलो चरणको कमलपोखरी पुर्ननिर्माणको काम सम्पन्न हुने चरणमा छ ।’

उहाँले केही दिन अघि बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेविको बिस्कुट कारखानामा लागेको आगो नियन्त्रणमा हेलिकोप्टरले रानीपोखरीको पानी प्रयोग गरेको स्मरण गराउँदै शहरका बिचका त्यस्ता पोखरीहरुको महत्व थप बढेको बताउनुभयो । ‘बालाजुको नेविको विष्कुट कारखानामा आगलागी हुँदा दमकलले त आगो निभाउँदै थियो ।

हेलिकोप्टरबाट पनि पानी हालेर आगो निभाउने काम भयो,’ उहाँले भन्नुभयो, ‘हाम्रो कार्यकालमा रानीपोखरी बनाउन नसकेको भए त्यहाँको आगो नियन्त्रणमा ल्याउन थप केही घण्टा लाग्न सक्थ्यो कि रु त्यसैले यस्ता पोखरीहरुको महत्व थप बढ्दै गएको छ ।’ उहाँले रानीपोखरी, कमलपोखरी, नागपोखरीलगायतका पोखरी जस्ता ऐतिहकि सम्पदाको संरक्षण र सौदर्यीकरण गर्ने अभियानलाई निरन्तरता दिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्