वीरगन्ज कारगारमा फैलियो भाइरल ज्वरो



कृष्णउदास खनाल , वीरगन्ज ।

वीरगन्ज कारागारमा भाइरल ज्वरोको प्रकोप फैलिएको छ । एक सातायता भाइरल ज्वरोको प्रकोप देखिएको कारागारका स्वास्थ्य प्रमुख दीपक यादवले बताउनुभयो । कैदीबन्दीमा ज्वरो तीव्र रुपमा बिस्तार भइरहको पनि उहाँले बताउनुभयो ।

आइतबारसम्ममा २ सय ६० कैदीबन्दीमा ज्वरो देखिइसकेको उहाँले जानकारी दिनुभयो । ज्वरोको प्रकोप तीव्र रुपमा फैलिरहेको र अधिकांश बिरामी कैदीबन्दीमा कारागार बाहिर फैलिएको इन्फ्लुएन्जा ‘ए’को जस्तै रुघाखोकी र ज्वरो जस्ता लक्षण देखिएको पनि यादवले जानकारी दिनुभयो । बिरामी कैदीबन्दीको उपचार गर्दागर्दै आफू पनि शनिबारदेखि भाइरल ज्वरोको सिकार भएको यादवले बताउनुभयो ।

उहाँले आफू सहित अन्य दशजना संक्रमित भएको पनि बताउनुभयो । पुरुष मात्र नभइ महिला कैदीबन्दीतर्फ पनि भाइरल ज्वरोको प्रकोप फैलिएको उहाँले बताउनुभयो । कारागारका निमित्त जेलर नवराज बर्तौलाले बिरामीको उपचार गर्न हाल औषधिको अभाव नरहेको बताउनुभयो । कारागारमा आजसम्म महिला र पुरुष गरी १ हजार २ सय ५८ कैदी बन्दी रहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्