भद्रपुर(ने.स) ।
इन्टरपोलको रेड सूचीमा रहेका झापाका एक व्यक्तिले जिल्ला प्रशासन कार्यालय झापाबाट दोहोरो नेपाली नागरिकता बनाएको थाहा भएको छ । दमक नगरपालिका–१ का ४४ वर्षीय हेमचन्द्र नाम्चुले वंशजको आधारमा २०५० साल मङ्सिर २७ गते जिल्ला प्रशासन कार्यालय झापाबाट २३१११२३ नम्बरको नेपाली नागरिकता बनाएको हो । त्यसैगरी साविक गरामनि गाविस–९ हाल बिर्तामोड नगरपालिका–१० का करणसिंह बस्नेतले २०६८ साल कार्तिक २० गते प्रशासन कार्यालय झापाबाट वंशजको आधारमा ०४१०४१–१९३६ नम्बरको नागरिकता लिएका थिए । नागरिकता लिएका नाम्चु र बस्नेत एउटै व्यक्ति हुन् ।
दोहोरो नागरिकता बनाएको आरोपमा पक्राउ समेत परेका ती व्यक्तिलाई झापा जिल्ला अदालतले १५ हजार रुपैयाँ जरिवाना र नागरिकता प्रमाणपत्र रद्द गर्ने अधिकार जिल्ला प्रशासन कार्यालय झापालाई दिने गरी असार ३० गते फैसला सुनाएको थियो ।प्रशासन कार्यालय समेत जानकारी नगराई उनले आफ्नो बचाउका लागि दोहोरो नागरिकता लिएका थिए । उनले दोहोरो नागरिकता लिएको विषयमा विगत लामो समयसम्म कसैले सुइँको समेत पाएका थिएनन ।दमक नगरपालिका र कमल गाउँपालिकामा चीन सरकारको लगानीमा बन्ने ‘चाइना–नेपाल फ्रेन्डसिप इन्डस्ट्रियल पार्क’ (औद्योगिक पार्क) का लागि २०७५ पुसमा अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण प्रकृयामा पार्कलाई चाहिने ४११ बिगाहा जग्गाको मुआब्जा सरकारी दररेट भन्दा झन्डै तीन गुणा कम कायम गरिएपछि करणसिंह बस्नेतले पीडित जग्गाधनीहरूसँग मिलेर संघर्ष समिति गठन गरी आन्दोलन चर्काउन खोजेका थिए ।बस्नेत संघर्ष समितिका सचिव थिए । बस्नेतले आन्दोलन चर्काउन खोजेपछि औद्योगिक पार्क जसरी पनि स्थापना हुनुपर्छ भन्ने पक्षमा रहेका व्यक्तिहरूले उनको कमीकमजोरी खोतल्न लागिपरे। बस्नेतको कमीकमजोरी खोज्दै जाँदा उनले लिएको दोहोरो नेपाली नागरिकता लिएको थाहा भयो ।
दुवै नागरिकताको प्रतिलिपि लिएर दमकका बुद्धिमान थापा लगायतका समूहले इलाका प्रहरी कार्यालय दमकमा मौखिक उजुरी दिएपछि घट्ना सतहमा आएको थियो ।प्रमाणसहित मौखिक उजुरी परेपछि इलाका प्रहरी कार्यालय दमक र जिल्ला प्रशासन कार्यालय झापामा समेत घटनाको विषयमा छानबिन थाल्यो। दोहोरो नागरिकता लिएको घटना सत्य भएको प्रमाणित भएपछि प्रहरी प्रतिवेदनको आधारमा २०७६ साल जेठ ९ गते झापा जिल्ला अदालतबाट बस्नेतको नाममा पक्राउ पूर्जी जारी भयो ।प्रहरीले उनलाई २०७७ भदौ २४ गते झापा अदालतबाट म्याद थप गरी इलाका प्रहरी कार्यालयमा राखेर अनुसन्धान शुरू गरेको थियो । प्रहरीले उनीमाथि मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को परिच्छेद ३ को दफा ३२ अन्तरगत मुद्दा दायर गरेको थियो । जिल्ला न्यायाधीशले २०७६ भदौ २० गते उनको नाममा धरौटी तोकेर थुनछेक आदेश जारी भएको थियो । हाल प्रतिवादीलाई संहिताको दफा ७२ समेतका आधारमा सोही संहिताको दफा ६८ ९१० बमोजिम १ लाख ६० हजार रुपैयाँ नगद वा सो बराबरको जेथा जमानत लिई सोही संहिताको दफा ७४ बमोजिम कागज गराई तारेखमा राख्नु र सो दिन नसकेमा थुनुवा पूर्जी दिई थुनामा राख्न झापा कारागार पठाइदिन भनी आदेश जारी गरेको थियो । अदालतको सोही आदेश बमोजिम बस्नेत त्यही बेला १ लाख ६० हजार रुपैयाँ धरौटी रकम बुझाएर तारेखमा रिहा भएका थिए ।
आफूलाई बस्नेत बताउने उनले हेमचन्द्र नाम्चुको नाममा नागरिकता निकालेपछि उनले सोही नामबाट ३२७५७८३ नम्बरको पासपोर्ट (राहदानी) बनाएका थिए । उनले प्रशासन कार्यालय झापाबाटै पासपोर्ट निकालेका थिए । त्यसपछि उनी वैदेशिक रोजगारीका लागि अन्य देश हुँदै संयुक्त अरब इमिरेट्स दुबई पुगेका थिए ।दुबईमा पुगेपछि उनको पासपोर्टको म्याद सकिएको थियो । त्यसपछि उनले सन् २००६ नोभेम्बर ३० मा दुबईको अबुधावीस्थित नेपाली राजदूतावासबाट पासपोर्टको नवीकरण गराएका थिए । दुबईमा हुँदा उनले विभिन्न व्यक्तिलाई ठग्न शुरू गरे । उता दुबईमा हुँदा विभिन्न व्यक्तिको लाखौँ रकम ठगी गरेपछि संयुक्त अरब इमिरेट्स दुबईले सन् २०१० मे १० मा बैंकिङ कसुर मुद्दामा उनको नाम र फोटोसहित इन्टरपोलको रेड सूची राखी नेपाल सरकारलाई जानकारी गराएको थियो ।रेड सूचीमा नाम परेकाले वैदेशिक यात्रामा रोक लाग्ने भएपछि उनले त्यसबाट जोगिन दोहोरो नागरिकताको बनाएका हुन् । सन् २०१२ मा करणसिंह बस्नेतको नामबाट उनले दोहोरो नागरिकता बनाए ।त्यसपछि उनी झापा र मोरङ बसेर विभिन्न व्यापार व्यवसाय गर्ने थाले । झापा जिल्ला अदालतका न्यायाधीश विनोद खतिवडाको एकल इजलासले प्रतिवादी नाम्चुलाई १५ हजार रुपैयाँ जरिवाना र नागरिकता प्रमाणपत्र रद्द गर्ने अधिकार जिल्ला प्रशासन कार्यालय झापालाई दिने गरी फैसला सुनाएको थियो ।
फैसलाको जानकारी जिल्ला प्रशासन कार्यालय झापालाई दिनु र सोही ठहर्नाले अरूमा तपसिल लेखिए बमोजिम गर्ने गरी मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १३१ बमोजिम प्रस्तुत मुद्दा फैसला गरी दिए ।अदालतले २०७८ साल असार ३० गते गरेको फैसलाको प्रमाणीकरण २०७८ साउन १५ गते गरेको देखिन्छ ।दोहोरो नेपाली नागरिकता लिएको विषयमा झापा जिल्ला अदालतले गरेको फैसला आफूले हेर्न बाँकी रहेको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिनुभयो । दोहोरो नेपाली नागरिकता लिएको व्यक्तिको नागरिकता ऐन बमोजिम दोस्रो नागरिकता स्वतः खारेज हुने उहाँले बताउँनुभयो ।











प्रतिक्रिया