सीमामा २ सय २४ वटा बीओपी, १ सय २० थपिँदै

7.24k
Shares

मधुसूदन रायमाझी, काठमाडौं ।

सरकारले नेपालको सीमा सुरक्षाका लागि बोर्डर आउट पोस्ट (बीओपी) को स्थापनालाई तीव्रता दिएको छ । सरकारले सीमा सुरक्षालाई मजबुद्ध बनाउन र नेपाली भूमिको रक्षा गर्नका लागि पछिल्ला वर्षमा सीमानामा बीओपी स्थापना गर्ने कार्यलाई उच्च प्राथमिकता दिँदै आएको छ । बीओपी स्थापनालाई सत्ता गठबन्धले हालै सार्वजनिक गरेको सरकारको साझा कार्यक्रममा पनि प्राथमिकता दिइएको छ ।

हालसम्म भारततर्फ २ सय १७ र चीनको सीमातर्फ ७ वटा बीओपी स्थापना भएर सञ्चालनमा आइसकेको छ । सीमा सुरक्षा र सीमाको व्यवस्थापनको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलले बीओपीको संख्या बढाउँदै लगेको हो । महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरीको नेतृत्व सम्हालेको साढे तीन वर्षको अवधिमा १ सय ३७ वटा बीओपी थपिएको छ । सशस्त्र प्रहरी बलका प्रवक्ता राजु अर्यालका अनुसार सीमा नाकामा ५ सयभन्दा बढी बीओपी स्थापना गर्ने लक्ष्य राखेर सशस्त्रले गृह मन्त्रालयसँग थप बीओपी स्थापना गर्न अनुमति मागेको छ ।

हाल प्रदेश नम्बर १ मा ५२, प्रदेश नम्बर २ मा ७२, वागमती प्रदेशमा ९, गण्डकीमा २, लुम्बिनीमा ४१, कर्णालीमा १ र सुदूरपश्चिम प्रदेशमा ४७ वटा बीओपी स्थापना भएर सञ्चालनमा आएको छ । सबैभन्दा बढी २ नम्बर प्रदेशमा ७२ वटा र सबैभन्दा कम कर्णाली प्रदेशमा १ वटा बीओपी स्थापना भएको छ ।

सीमामा स्थापना भएको बीओपीमध्ये हालसम्म १ सय वटाको आफ्नै भवन बनेको छ । बाँकी बीओपी भवन निर्माणका लागि बजेट आउने क्रममा छ । चालू आर्थिक वर्षको बजेटमा थप १ सय २० वटा बीओपी स्थापना गर्ने बजेटमा उल्लेख गरिएको छ ।

हाल सशस्त्र प्रहरी बलले नेपालको सीमा र पिलरको नियमितरूपमा गस्ती गर्दै आएको जानारी दिँदै प्रवक्ता अर्यालले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘बीओपी स्थापनासँगै यसलाई स्रोत र साधन सम्पन्न बनाउँदै लैजानुपर्ने आवश्यकता छ ।’ सीमानामा सरकारले सुरक्षा र विकासलाई एकसाथ जोडेर अगाडि बढाउनुपर्नेमा जोड दिँदै उहाँले बीओपीको संख्या बढाएसँगै जनशक्तिसमेत थप्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

तराई–मधेस क्षेत्रमा स्थापना न्यूनतम ४ देखि १७ किलोमिटरको दूरीमा बीओपी स्थापना गरिएको छ । भौगोलिक कारणले चीनसँग सीमा जोडिएको क्षेत्रमा भने लामो दूरीमा बीओपी स्थापना गरिएको छ । बीओपीको संख्या वृद्धि भएसँगै सीमानाकामा हुने आपराधिक गतिविधि र चोरी निकासीको संख्यामा समेत कमी आएको सशस्त्र प्रहरी बलले बताएको छ ।