बिनाग्रेड एसईई नतिजा प्रकाशित

10.06k
Shares

काठमाडौं, (नेस) ।

राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित गरेको छ । नतिजा प्रकाशित गरे पनि विद्यार्थीले प्राप्त गरेको ग्रेड भने सार्वजनिक गरेको छैन ।

विद्यालयले मनोमानी नम्बर दिएको र सोको आधारमा जिल्ल्ला शिक्षा समन्वय इकाइले प्रमाणीकरण गरेर पठाएका कारण बोर्डले तथ्यांक सार्वजनिक नगरेको हो । बोर्डको बैठकका अधिकांश सदस्यले जीपीएको तथ्यांक सार्वजनिक गर्न जरुरी नभएको जनाएपछि सोही आधारमा बोर्डले परीक्षाफल प्रकाशित गरेको हो ।

परीक्षा नियन्त्रक (कक्षा १०) रुद्रप्रसाद अधिकारीले बोर्डको काम प्रमाणीकरण गर्ने मात्र भएकाले तथ्यांक सार्वजनिक नगरेको जानकारी दिँदै भन्नुभयो– ‘विद्यालय र इकाइले पठाएको नम्बर प्रमाणीकरण गरी लब्धांकपत्र उपलब्ध गराउने भएपछि तथ्यांक आवश्यक नभएकाले यो वर्ष ‘ए प्लस’, ‘ए’, ‘बी प्लस’, ‘बी’, ‘सी प्लस’, ‘सी’, ‘डी प्लस’, ‘डी’ वा सोभन्दा माथि ग्रेड ल्याउनेको तथ्यांक ननिकालेको हो ।

यो वर्ष करिब ३ लाख ८५ हजारले मात्र आवेदन फाराम भरेको पाइएको छ । फारम भरेकामध्ये केही अनुपस्थित भएका थिए । बोर्डले २४ वटा विद्यालयका सबै विद्यार्थीले ‘ए प्लस’ र ‘ए’ ल्याएको विषयमा इकाइसँग सोधपुछ गरेको छ । सो विषयमा पनि बोर्डले इकाइमार्फत छानबिन गर्ने तयारी गरेको छ ।

अधिकांश विद्यालयले आफ्ना विद्यार्थीलाई ‘बी’ प्लससम्म अंक दिएका छन् । बोर्डले यो वर्ष गत वर्षभन्दा फरक कार्यविधि तयार गरे पनि त्यसको पालना गरेको पाइएन । विशेष गरी उपत्यका र तराईका ८ जिल्लाको परीक्षाफल फरक देखिएको बोर्डको विश्लेषण छ ।