कक्षा १२ को परीक्षा अनिश्चित

4.98k
Shares

ईश्वरराज ढकाल, काठमाडौं ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को साउन ३१ देखि भदौ ९ गतेसम्म हुन लागेको परीक्षा स्थगित गरेको छ । बोर्डको शनिबार बसेको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । कोभिड संक्रमण बढ्दै गएको अवस्थामा सीसीएमसीले परीक्षाको मिति पर सार्न निर्देशित गरेपछि परीक्षा स्थगित गरिएको हो ।

यो निर्णयसँगै परीक्षाको तयारीमा बसेका ३ लाख ७६ हजार विद्यार्थी अन्योलमा परेका छन् । बोर्डले कोभिड संक्रमण कम भएपछि मात्रै अर्को मिति तय गर्ने तयारी गरेको छ । बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले परीक्षाको प्रश्नपत्र निर्माणदेखि इन्टरनेट नपुगेका १ सय १३ केन्द्रमा प्रश्नपत्र ढुवानी भइसकेको अवस्थामा एकाएक परीक्षा स्थगित गर्न बाध्य भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘परीक्षा हुने सबै विद्यालय (केन्द्र) मा उत्तरपुस्तिका पठाइसकेका थियौं । सबै विषयको प्रश्नपत्र तयार गरी प्रदेश–१ मा भर्चुअल गोष्ठीसमेत सम्पन्न गरिसकेका थियौँ ।’

स्वाथ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण पुनः बढ्दै गएको उल्लेख गर्दै सबै तहको परीक्षा स्थगित गर्न सीसीएमसीलाई प्रस्ताव गरेको थियो । सोही प्रस्तावलाई टेकेर सीसीएमसीले बोर्डलाई परीक्षाको मिति पछि सार्न निर्देशन गरेको थियो ।

बोेर्डका उपाध्यक्ष एवं शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले १५ दिनअघि सूचना जारी गरेर मात्र परीक्षाको अर्को तालिका सार्वजनिक गरिने बताउनुभयो । उहाँले भन्नुभयो– ‘अब परिस्थितिको विश्लेषण गरेर मात्रै अर्को मिति तय गर्नेछौं ।’ उहाँले विद्यालय तहको अन्तिम परीक्षा भएकाले कक्षा १२ को परीक्षा बोर्डबाटै लिनुको विकल्प नभएको बताउनुभयो ।

विद्यार्थी संगठन, अभिभावक महासंघ र सरोकारवाला निकाय, परीक्षार्थी र परीक्षामा संलग्न सबैलाई कोभिडविरुद्धको खोपको व्यवस्थापन गर्न नसक्ने भए परीक्षा स्थगित गर्न माग गर्दै आएका थिए ।

परीक्षामा ४ हजार ३ सय ३५ परीक्षा केन्द्रबाट अनिवार्य र ऐच्छिक गरी करिब ९० विषयको परीक्षा दिनुपर्ने व्यवस्था गरिएको थियो । बोर्डले भौतिक दूरी कायम गरी एउटा कक्षामा २५ जना मात्रै विद्यार्थी राख्ने गरी तयारी थालेको थियो । साथै परीक्षा केन्द्रमा स्वाथ्य परीक्षण गर्ने, परीक्षाअगावै अनिवार्यरूपमा पीसीआर परीक्षण गर्ने, केन्द्रमा हेल्थडेक्स राख्नेलगायत तयारी गर्न सबै केन्द्रलाई निर्देशन दिइएको थियो ।
परीक्षा बोर्डले योपटक १०० पूर्णांककै परीक्षा गराउने तयारी गरेको थियो । बोर्डले गत वर्ष ४० प्रतिशत मूल्यांकनका लागि मात्रै परीक्षा लिएको थियो । बाँकी ४० प्रतिशत मूल्यांकन कक्षा ११ को नतिजाका आधारमा र २० प्रतिशत आन्तरिक मूल्यांकनको आधारमा दिएको थियो ।
‘ओपन बुक मोडल अपनाउनु बेस’

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले यो वर्षको परीक्षा ओपनबुक मोडलबाट गर्दा बेस हुने बताउनुभएको छ ।

नेपाल समाचारपत्रसँग कुरा गर्दै उहाँले भन्नुभयो– ‘अब विद्यार्थीलाई घर–घरमा प्रश्नपत्र पुर्‍याइन्छ, विद्यार्थीले ओपनबुक मोडलमा परीक्षा दिएर शिक्षकबाटै उत्तरपुस्तिका परीक्षण गरी परीक्षाफल प्रकाशित गर्न सकिन्छ ।’

विदेशमा प्रचलनमा आएको यो मोडल नेपालमा पनि प्रभावकारी बनाउनुपर्ने उहाँको सुझाव थियो । हिसानका सल्लाहकारसमेत रहनुभएका राज्यमन्त्री श्रेष्ठले अहिलेको अवस्थामा भौतिक उपस्थितिमा परीक्षा लिन सक्ने अवस्था नभएको जिकिर गर्दै घरमै बसेर परीक्षाको व्यवस्थापन गरी शिक्षकबाटै उत्तरपुस्तिका परीक्षण गर्नु उचित हुने बताउनुभयो ।