काठमाडौं, (नेस) ।
त्रिभुवन विश्वविद्यालयले साउन २८ गतेसम्म नियमित परीक्षा लिने जनाएको छ । त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले सबै तहको परीक्षा २८ गतेसम्म जारी रहने बताउनुभएको छ ।
सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै उहाँले भन्नुभएको छ– ‘धेरै विद्यार्थी भएको व्यवस्थापन संकायको परीक्षा साउन २२ बाट समाप्त भएको छ । अन्य तहको परीक्षा सबै स्वाथ्य मापदण्ड पालना गरी २८ गतेसम्म सञ्चालन हुने जानकारी गराउँछु ।’
त्रिविका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले स्नातक तहको परीक्षा सकेपछि अन्य तहको परीक्षाको विषयमा तत्काल निर्णय नलिने बताउनुभएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण बढ्दै गएको अवस्थामा सबै तहको परीक्षा स्थगित गर्न सीसीएमसीलाई सिफारिस गरेको छ । सोही सिफारिसको आधारमा त्रिविले पूर्व निर्धारित परीक्षाहरू २८ गतेसम्म सम्पन्न गर्ने जनाएको हो ।
साउन ३० गते हुने स्नातकोत्तर तहको प्रवेश परीक्षालाई भने भदौ ७ गते सारिएको र सरकारले सो परीक्षा सञ्चालन गर्न रोक लगाएमा अनलाइनबाट भए पनि परीक्षा लिइने उपकुलपति प्राडा बास्कोटाले बताउनुभयो ।
स्तानकोत्तर तहमा व्यवस्थापन र मानविकी संकायका गरी करिब १३ हजार विद्यार्थी प्रवेश परीक्षा दिने तयारीमा रहेको बताइएको छ ।











प्रतिक्रिया