नक्कली नागरिकता बनाएर मिर्गौला तस्करी



मोतीराम तिमल्सिना, काभ्रे ।

प्रहरीको एक साता लामो सक्रियतापछि नक्कली नागरिकता बनाएर मिर्गाैला तस्करी गर्ने काभ्रेका तीन तस्कर शुक्रबार राति पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक राजन कोइरालाले पीडितको जाहेरीका आधारमा मिर्गाैला तस्करीमा संलग्न तीन जनालाई पक्राउ गरिएको जानकारी दिनुभएको हो । उहाँले आरोपितमध्ये फरार रहेकाको खोजी कार्य जारी रहेको बताउनुभयो । पक्राउ पर्नेमा भुम्लु गाउँपालिका–८ घर भएका ३५ वर्षीय राजकुमार भन्ने कुमार परियार, उनकै भाइ ३३ वर्षीय देवराज भनिने सुरेश परियार र साविक देवभूमि बालुवा गाविस हाल पाँचखाल नगरपालिका–१० घर भएका ३१ वर्षीय राजकुमार भनिने कुमार परियार रहेका छन् । पक्राउ परेका तीनै जना नातेदार हुन् । कुमार र सुरेश दाजुभाइ हुन् भने अर्का कुमार सुरेशको साढुभाइ हुन् ।

सुरेशको श्रीमती मन्दिरा कटुवालको ब्लड क्यान्सरबाट २०७८ जेठ १३ गते निधन भएपछि बिमाबापतको रकम लिन बनेपा आएका सुरेशलाई प्रहरीले पक्राउ गरेको हो । उनीमार्फत उनकै दाजु कुमारलाई बनेपाबाट र साढुभाइ कुमारलाई पाँचखालबाट प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका मिर्गाैला तस्करहरूले हरेक साता आफूहरूले नेपालीलाई नक्कली नागरिकता उपलब्ध गराउँदै भारतका विभिन्न अस्पतालमा मिर्गाैला बिक्रीका लागि लाने गरेको बताएका छन् ।

बनेपा नगरपालिका–५ का वडाध्यक्ष बलराम अधिकारीलाई सोही वडाका पीडित २८ वर्षीय एक युवकले आफ्नो मिर्गाैला तस्करहरुले बिक्री गराएको जानकारी गराएपछि प्रहरीले उक्त घटनामा संलग्नहरूको खोजी शुरु गरेको हो ।

भारतको कोलकत्तास्थित मुकुन्दपुरमा रहेको एमआरआई अस्पतालमा ५ लाख रुपियाँमा आफ्नो मिर्गाैला बिक्री गरी २०७७ चैत्रमा ती युवक घर फर्किएका थिए । उनलाई दीपक श्रेष्ठ नामको नागरिकता दिलाएर दिदीको नाता लगाएर कल्पना श्रेष्ठलाई मिर्गाैला दिन लगाइएको थियो । पीडित युवाका अनुसार उनीसँगै अरू दुई नेपालीलाई पनि उक्त अस्पतालमा पुर्‍याइएको थियो । ती युवाले अहिले पनि मिर्गाैला तस्करहरूले सातामा चार नेपालीलाई भारतका विभिन्न अस्पतालमा पुर्‍याउने गरेको आफूलाई जानकारी भएको बताएका छन् ।

केही वर्षअघि काभ्रेको साविक होक्से, काभ्रे नित्य चण्डेश्वरी, पाँचखाल, देवभूमि बालुवा, अनेकोट, पातलेखेतलगायत गाविसका केही स्थान मृगौला बिक्री गर्ने गाउँका रूपमा चिनिएको थियो । बीचमा सुस्ताएको जस्तो देखिए पनि तस्करहरूको सक्रियताले अहिले फेरि सातामा चारभन्दा बढी नेपाली मिर्गाैला बिक्रीका लागि भारत पुर्‍याइने गरिएको तथ्य प्रहरीले फेला पारेको छ । प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले मानव अंग बेच–विखनमा संलग्नहरुकोे छानबिन शुरु गरिएको जानकारी दिँदै भन्नुभयो– ‘मिर्गाैला बिक्री गराउन बाध्य पार्ने गिरोहका बारेमा अनुसन्धान भइरहेको छ । पक्राउ परेकाहरूलाई कानुनअनुसार कारबाही गर्छौं ।’

कसरी बाध्य पारिए मिर्गाैला दिन ?

पीडित २८ वर्षीय युवाका दाजुले पनि ४ लाख रुपियाँ लिएर २०७२ सालको भूकम्पअघि आफ्नो मृर्गाैला बिक्री गरेका थिए । उनी अहिले पातलेगाउँस्थित दाहाल डाँडामा बस्छन् । ससुरालीकै जग्गा कमाएर बसेका दाजु मिर्गाैला बिक्री गर्ने दलाल खोजी गरी कानुनी कारबाही गराउने योजनामा थिए । दाजुको न्यायका लागि लड्ने योजनाका साथ भारत पुगेका ती युवा आफैं मिर्गाैला बिक्री गर्न बाध्य भएको प्रहरीमा दिइएको जाहेरीमा भनिएको छ । पीडित युवाले मिर्गाैला बिक्री गरेर प्राप्त गरेको ५ लाख रुपियाँबाट घर खर्च चलाउँदै गरेको पनि बताए ।

कोशीपारि भुम्लु गाउँपालिका–८ घर भएका सुरेश परियार र उनका भाइ कुमार परियार बनेपा नगरपालिका–५ मा बंगुर पाल्ने व्यवसायमा गर्छन् । कुमार आफैं पनि मिर्गाैला बिक्री गरेर फर्केका व्यक्ति हुन् । पक्राउ पर्ने तीनै जना पहिले इँटाभट्टामा काम गर्दथे । त्यति बेलादेखि नै बनेपा–५ रविओपीका युवासँग चिजजान भएको र तिनै युवालाई पछ्याउँदै बसेका सुरेश र कुमारले थोरै रकमको लोभमा आफ्नै दाइको मिर्गाैला पनि बिक्री गराइदिएका थिए ।

कुमार र सुरेशले पीडित युवाको भक्तपुरको एउटा निजी ल्याबमा ब्लड टेस्ट गराएर वीरगन्ज पुर्‍याएलगत्तै खोलैखोला सीमापारि पु¥याए । भारत लगेको केही दिनसम्म उनलाई एउटा कोठामा राखेर अरू फरार भए । भारत पुगेपछि तिनै युवाले अलपत्र परेकी एउटी युवतीलाई नेपाल फर्काउन सहयोग गरे । साथमा पैसा नभएकाले चार दिनसम्म खान नपाएपछि फोन गरेर आफूलाई त्यहाँ पुर्‍याउने समूहका सदस्यलाई धम्क्याएका थिए । केही दिनपछि अरू नै व्यक्तिहरू आएर उनलाई मिर्र्गौला दिनुपर्छ भनेर धम्क्याए । विकल्प अरू नभेटिएपछि नेपाल नै घर बताउने प्रदीप वैद्यमार्फत कल्पना श्रेष्ठलाई मिर्र्गौला दिन ती अपरिचितले नै दीपक श्रेष्ठ नामको नक्कली नागरिकता बनाइदिए । केही दिनको अस्पताल बसाइ, त्यसपछि प्रदीप वैद्यकै घरमा तीन महिना बसेपछि नेपालमै पैसा पाउने भन्दै उहाँलाई घर फर्काइदिए । घर फर्केको केही समयपछि ती युवाले सुरेश परियारमार्फत दुई किस्तामा ५ लाख पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्