जापानबाट आयो ५ लाख मात्रा खोप, दोस्रा मात्राको प्रतीक्षामा रहेका ज्येष्ठ नागरिकलाई अवसर

4.14k
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

जापानले नेपाललाई कोभ्याक्स सुविधाअन्तर्गत प्रदान गर्ने प्रतिबद्धता जनाएको १६ लाख मात्रा एस्ट्राजेनिका खोपमध्ये ५ लाख १३ हजार डोज शनिबार हस्तान्तरण गरेको छ ।

जापानमा निर्मित एस्ट्राजेनिकाको बाँकी मात्रा खोप पनि छिट्टै आइपुग्ने जानकारी गराउँदै नेपालका लागि जापानी राजदूत किकुता युताकाले प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले सबै नेपाली नागरिकलाई खोप प्रदान गर्ने भनी गरेको घोषणामा सघाउने प्रतिबद्धता जनाउनुभयो ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई राजदूत किकुतालगायतको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खोप हस्तान्तरण गरेको हो ।

कोभिसिल्ड खोप आएसँगै यसअघि पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकले दोस्रो मात्रा लगाउन पाउने भएका छन् । स्वास्थ्य सेवा विभाग खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमका अनुसार कोभिसिल्ड खोपको दोस्रो डोजको पर्खाइमा रहेका वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकलाई यही साउन २५ गतेदेखि खोप दिइनेछ ।

गत १३ जुलाईमा जापानी विदेशमन्त्री मोतेगी तोसिमित्सुले नेपाललाई कोभ्याक्स सुविधाअन्तर्गत १९ लाख डोज एस्ट्राजेनिका उपलब्ध गराउने घोषणा गर्नुभएको थियो ।

राजदूत किकुताले यसअघि नेपाललाई कोभिड–१९ को महामारी नियन्त्रणका लागि स्वास्थ्य उपकरण दिएर सघाएको स्मरण गर्दै आगामी दिनमा पनि सहयोगले निरन्तरता पाउने बताउनुभयो ।

खोप हस्तान्तर कार्यक्रममा परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापा, युनिसेफ नेपालका प्रतिनिधि एलक विस र विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा. राजेश साम्भाजी राव पाण्डवको पनि उपस्थिति थियो ।