जीवनभर कलाकर्मीको भीड मरेपछि मलामीकै अभाव



रश्मी थापा, काठमाडौं ।

जीवनोपयोगी टेलिफिल्म निर्माण गरेर र ठूला पर्दाका फिल्म लेखेर कलाकर्मीको भीड तयार पारेका लोकप्रिय निर्देशक उमेशनाथ अर्यालको अन्तिम संस्कारमा मलामीकै अभाव देखियो ।

बुधबार उनको निधनपश्चात् अन्तिम संस्कार गरिँदा न कलाकार, न त साथीभाइको साथ पाए उनले आफ्नो अन्तिम यात्रामा । समय खेल या प्रतिकूल अवस्थाको परिणति, निधनपछि अर्यालको अवस्था यतिसम्म हुनपुग्यो कि उनको पार्थिव शरीर ब्रम्हनालदेखि चितासम्म पुर्‍याउन चार काँध पाउनसमेत मुस्किल भयो ।

आमा र श्रीमतीका साथ राजधानीको मैतीदेवीमा बस्दै आएका उमेशका एक छोरी र एक छोरा अमेरिका तथा क्यानडामा रहेका र दाजुभाइसमेत नभएका कारण पार्थिव शरीर बोक्ने मानिसको अभाव देखिएपछि उमेशबाट ब्रेक पाएका अभिनेता सरोज खनालले उनको काँध थापे । ‘उहाँलाई बोक्ने मानिससमेत नभएपछि भाडामा मान्छे खोज्न लागिएको थियो, मैले सहनै सकिनँ र आफैं बोक्छु भनेर काँध थापें’ – खनालले भने ।

उनको अन्त्येष्टिका लागि पशुपति आर्यघाटको व्यवस्थापन गर्नेजस्ता प्रायः सबै काम सरोजले नै सम्हालेका छन् ।

उमेशको युगान्तकारी तथा पहिलो टेलिसिरियल बन्धकमा परेको जीवनबाट नेपाली कला जगत्मा प्रवेश गरेका खनालले नेपाल समाचारपत्रसँग कुराकानी गर्दै भने– ‘के उहाँले गर्नुभएको योगदानवापत कमाएको तीन–चार जना कलाकार र पाँच–सात आफन्त मात्र हुन् त ? उहाँको अन्तिम बिदाइको साक्षी बस्दै गर्दा मभित्र यस्तै अनगिन्ती प्रश्नले जरा गाडेको थियो ।’

अर्यालको हृदयघातका कारण ७५ वर्षको उमेरमा मनमोहन अस्पतालमा निधन भएको हो । गत सोमबार राति एक बजे मैतीदेवीस्थित निवासमा हृदयघात भएपछि अस्पताल पु¥याइएको थियो । शल्यक्रिया भएको दुई दिनपछि बुधबार दिउँसो १२ बजे निधन भएको अभिनेता खनालले जानकारी दिए । उमेश ९८ वर्षीया आमाको स्वास्थ्यमा समस्या आएपछि चिन्तित हुनपुगेका थिए भने उनको निधनपश्चात उनकी आमा अचेत अवस्थामा रहेको बताइएको छ ।

नाटककार बालकृष्ण समको समककालीन चर्चित नाकटकार गोपीनाथ अर्यालका पुत्र उमेशले निर्देशन गरेको भीडदेखि भीडसम्म, पिँजडा, बन्धकमा परेको जीवन, यातना, आकाश पनि चुप छजस्ता थुप्रै शृंखला त्यस समयमा अत्यन्त लोकप्रिय भएका थिए । उनले केही फिचर फिल्मका लागि स्क्रिप्ट पनि लेखेका थिए ।

प्रतिक्रिया दिनुहोस्