नेता खनालको मिर्गौला प्रत्यारोपण सफल



काठमाडौं, (नेस) ।

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ ।

खनालको भारतको नयाँदिल्लीस्थित अपोलो अस्पतालमा बुधबार सफल प्रत्यारोपण गरिएको हो । गत असार ३ गतेदेखि सोही अस्पतालमा उपचाररत नेता खनालको मिर्गौला प्रत्यारोपण डा. सन्दीप गुलेरियाको टोलीले गरेको हो । नेता खनाल अझै केही समय अस्पतालमै रहने उहाँको सचिवालयले जनाएको छ ।

६ साताअघि ‘पोस्ट कोभिड’बाट स्वास्थ्य समस्या जटिल बन्दै गएपछि नयाँ दिल्लीस्थित अपोलो अस्पताल पुग्नुभएका खनालको तीन साताअघि मिर्गौलाको डायलासिस शुरू गरिएको थियो । उहाँमा पोस्ट कोभिडसँगै मिर्गाैलाको समस्या देखिएको थियो ।

कोभिड र पोस्ट कोभिडको उपचार काठमाडौंको नर्भिक अस्पतालमा गराइरहेकै बेलामा मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्था देखिएकाले असार ३ गते नेता झलनाथ खनाललाई त्यहीँबाट नयाँदिल्लीस्थित अपोलो अस्पताल लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्