आयोगलाई सर्वोच्चको आदेश



काठमाडौं, (नेस) ।

जनता समाजवादी पार्टी (जसपा) का नेता उपेन्द्र यादवले नेतृत्व गरेको समूहलाई पार्टीको आधिकारिकता दिनुको कारण पेश गर्न बुधबार सर्वोच्च अदालतले निर्वाचन आयोगलाई आदेश दिएको छ ।

न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले नेता यादव नेतृत्वकोे समूहलाई पार्टीको आधिकारिकता दिनुको कारण १५ दिनभित्र पेश गर्न आयोगको नाममा आदेश दिएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले बताउनुभयो ।

आयोगले यही साउन ११ गते यादव समूहलाई पार्टीको आधिकारिकता प्रदान गरेको थियो । जसपामा ठाकुर र यादवले नेतृत्व गरेको दुई समूहबीच आधिकारिताको विवाद चलेको थियो । सो विवाद आयोग समक्ष पुगेपछि आयोगले यही साउन ११ गते दुवै समूहमा केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूको सनाखत गरी बहुमत सदस्य भएको यादव पक्षलाई पार्टीको आधिकारिता प्रदान गरेको थियो । आयोगले जसपाको नाम, झण्डा, विधानलगायतका विषय यादवले नेतृत्व गरेको समूहले पाउने गरी निर्णय गरेको थियो ।

अर्का नेता ठाकुरले पाँच दिनअघि संविधान तथा कानुनविपरीत यादव नेतृत्वको समूहलाई आयोगले आधिकारिकता प्रदान गरेको भन्दै सर्वोच्चमा रिट निवेदन दायर गर्नुभएको थियो । माग गरेबमोजिम अन्तरिम आदेश दिने वा नदिने भन्ने सम्बन्धमा यस्तै प्रकृतिको अर्को निवेदनसँगै राखी सुनुवाइ गर्न पनि इजलासले आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्