लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

प्रदेश प्रमुख समक्ष विशेष अधिवेशन आह्वान गर्न माग



यमलाल भुसाल, बुटवल । 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ । मुख्यमन्त्री पोखरेलविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन समेत माग गरेका छन् । विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

त्यसपछि प्रदेश प्रमुख अमिक शेरचनलाई भेटी उनीहरुले विशेष अधिवेशनको लागि निवेदन दिएका छन । ३४ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित बुझाइएको अविश्वास प्रस्तावमा नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्री प्रस्ताव गरिएको छ । विपक्षी दलका सांसदहरुले यसअघि मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वास प्रस्तावमा छलफल नै नगरी सांसदको अधिकार हनन गरिएको बताएका छन् ।

मुख्यमन्त्रीविरुद्ध अविश्वास अहिलेसम्म कायम रहेको भन्दै उनीहरुले संविधानको धारा १८८ (४) र लुम्बिनी प्रदेशको प्रदेशसभा नियमावली नियम १४४ (१) बमाोजिम अविश्वास प्रस्ताव दर्ता गरेको उल्लेख गरेका छन् ।नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले मुख्यमन्त्री पोखरेललाई प्रदेशसभाको समर्थन नरहेको भन्दै अविश्वास प्रस्तावमाथि छलफलको माग गरेका हुन् ।

यसअघि लुम्बिनीका विपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र जनर्मोचाले २ पटक अविश्वासको प्रस्ताव दर्ता गरि सकेका छन् । मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध विपक्षीहरुले बैशाख ६ गते पहिलो पटक अविश्वासको प्रस्ताव दर्ता गरेका थिए भने दास्रो पटक बैशाख २६ गते पुनः अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । पहिलो अविस्वासको प्रस्तावमा छलफल नै गरिएन भने दोस्रो पटककोमा प्रदेश प्रमुखले अधिवेशन नै नडाके र टारेका थिए ।

प्रतिक्रिया दिनुहोस्