निफका विजेतालाई पुरस्कार



ही समयअघि भर्चुअलरूपमा सम्पन्न चौथो नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) का विजयीहरूलाई आइतबार राजधानीमा आयोजित एक समारोहबीच पुरस्कार प्रदान गरिएको छ।

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले गत वैशाख २३ देखि २७ गतेसम्म आयोजना गरेको महोत्सवका विजयीहरूलाई पुरस्कार प्रदान गरिएको हो। पुरस्कृत पाँच अन्तर्राष्ट्रिय अवार्डमध्ये एक पुरस्कार आइतबार प्रदान गरिएको र बाँकी कुरियरमार्फत पठाइने आयोजक संस्थाका अध्यक्ष केपी पाठकले जानकारी गराए। कार्यक्रममा सात विधामा राष्ट्रिय अवार्ड प्रदान गरिएको थियो। निफमा स्वदेशी फिचर फिल्मतर्फ फिल्म आमा खान्डोले एक लाख नगद राशिको पुरस्कार पाउँदा सोही फिल्मबाट डान्डुप छिरिङले उत्कृष्ट निर्देशकको अवार्ड चुमेका छन्। त्यस्तै, फिल्म लाटोकोसेरोबाट नवीन शिल्पकार र सरीता गिरीले उत्कृष्ट नायक–नायिकाको अवार्ड चुम्दा फिल्मले उत्कृष्ट छायांकारको अवार्डलाई समेत आफ्नो बनाएको छ।

फिचर फिल्मतर्फ उत्कृष्ट पटकथाको अवार्ड सरीता टेल मी हु एम आईबाट सर्जियो बासोले पाए भने प्यानडेमिक डकुमेन्ट्रीतर्फ सिभिल सोल्जर्सबाट निर्देशक गणेश पाण्डेले ५० हजार रुपियाँ राशिको अवार्ड हात पारे। ५० हजार राशिकै राष्ट्रिय सर्ट फिल्मको अवार्ड भने राजेशप्रसाद खत्री निर्देशित अ स्केयरक्रोले पाएको छ।

कार्यक्रममा पांचौँ संस्करणको निफको आवेदनसमेत खुल्ला गरिएको घोषणा प्रतिष्ठानका अध्यक्ष पाठकले गरेका छन्। उनले यसपटक आगामी चैत १० गतेदेखि १४ गतेसम्म हुने निफको पाँचौं संस्करणमा नेपाली प्रतिस्पर्धामा ५० हजार राशिको वृत्तचित्रसमेत थप गरिएको जानकारी गराएका छन्। कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल र आयोजक प्रतिष्ठानका अध्यक्ष पाठक र निर्णायकमध्येका वरिष्ठ फोटोग्राफर राजभाइ सुवालले विजेतालाई अवार्डको ट्रफी तथा प्रमाण—पत्र प्रदान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्